ठूला योजना र बजेट पार्न सांसद केसी मन्त्री भेटघाटमा व्यस्त

कोहलपुर । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्नुभएको छ ।

काठमाडौं पुग्नुभएकी उहाँले सोमबार अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गर्नुभएको हो ।

उहाँले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुंगे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुईवटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलोमिटर पक्की नाली निर्माणलगायतका योजनाहरु पेश गर्नुभएको छ ।

‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुवै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छुँ । मन्त्रीज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफलसमेत भयो,’ काठमाडौंमा रहेकी सांसद नमुनाले टेलिफोनमा भन्नुभयो ।

आफूले पेश गरेका योजनाहरुको बारेमा दुवै मन्त्रीहरु सकारात्मक रहेको भन्दै केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उहाँले दाबी गर्नुभयो ।

अहिलेसम्म योजनामा समावेश नभएका यहाँका विभिन्न योजनालाई योजनामा समावेश गरेर बजेट विनियोजन गरिदिन आफूले मन्त्रीज्यूहरुलाई आग्रह गरेको सांसद नमुनाले बताउनुभयो ।

उहाँले बाँसखुली हुँदै दाङको भौवानाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रानालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि माग पेश गर्नुभएको छ ।

फुसको छानो हटाउने कार्यक्रमअनुसार सुरक्षित आवास कार्यक्रमअन्तर्गत नरैनापुरमा दुई हजार, राप्तीसोनारीमा एक हजार र कोहलपुरमा पाँच सय घर निर्माणका लागि बजेट सुनिश्चित गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजनाअनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ,’ सांसद नमुनाले जानकारी दिँदै भन्नुभयो, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला ।’

राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नका लागि सहरी विकासमन्त्री चौधरीलाई उहाँले आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुम्भर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा ६÷६ कोठे भवन तथा सहिद स्मृति सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गर्नुभयो ।

बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ कामा पर्ने वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङा खोलामा तीन किलोमिटर तटबन्धका लागि समेत बजेट दिन अर्थमन्त्रीसँग उहाँले आग्रह गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट समेत आफ्नो क्षेत्रमा विभिन्न योजनाहरु परेको भन्दै सांसद नमुनाले त्यतीले मात्र नपुगेर विकास माग्दै आफू काठमाडौं आइपुगेको बताउनुभयो ।

‘प्रदेश सरकारले दिने बजेटले मात्र राप्तीसोनारी र नरैनापुरको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘मलाई त्यहाँका जनताले यसले केही गर्छे भनेर दोस्रोपटक जिताएर पठाएका छन् । जनताकै योजना बोकेर काठमाडौंमा मन्त्रालयका ढोका ढोकामा पुगिरहेकी छुँ ।’

सांसद नमुनाले केही दिनअघि मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर राप्तीसोनारी र नरैनापुरका लागि थप योजना र बजेट विनियोजन गर्न लगाउनुभएको थियो ।

Previous article‘हिजो स्वतन्त्र पंक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’
Next articleडुडुवामा बजेटसहित नीति तथा कार्यक्रम सर्वसम्मत पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here