
बाँके । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थाल्नुभएकाे छ ।
दुबै पालिकाका सबै वडा तथा राजमार्गहरुमा समेत गुणस्तरीय टेलिफोन सेवाका लागि उहाँले पहल थाल्नुभएकाे हाे ।
सोही बिषयमा सोमबार नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग भेट गरेर सांसद नमुनाले छलफल समेत गर्नुभएकाे छ । महेन्द्र र हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीमा टेलिफोनको पहुँच नपुगेको स्थानमा पहुँच पु¥याउने विषयमा उहाँले छलफल गर्नुभएकाे थियाे ।
‘प्रधानमन्त्री ज्यूको सपथ ग्रहण कार्यक्रममा सहभागि जनाउने उद्देश्यले शितल निवास जाने भनेर हिडेकाे थिए’ उहाँले भन्नुभयाे, ‘बीचैबाट त्यहाँ जान छोडेर मेरा निर्वाचन क्षेत्रका जनताका गुनासा लिएर छलफल गर्न टेलिकमका प्रबन्ध निर्देशक पौडेललाई भेट्न गए ।’
प्रबन्ध निर्देशक पौडेलसँग कोहलपुरको चपरगौडीदेखि दाङको सिमाना शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावरहरु राख्ने सहमति भएको सांसद नमुनाले जानकारी दिनुभयाे ।
‘सबै क्षेत्रमा टेलिफोनको पहुँच पु¥याउनको लागि यसै साताबाट सर्वे समेत सुरु गर्ने प्रबन्ध निर्देशक ज्यूसँग सहमती भएको छ’ काठमाडौंमा रहनुभएकी उहाँले भन्नुभयाे, ‘अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको छ ।’
निर्वाचनमा मतदाताको घरदैलोमा पुग्दा मतदाताले फोन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासो आएपछि आफुले टावर थप गर्नको लागि पहल थालेको सांसद नमुनाले बताउनुभयाे ।
करिब चार वर्ष अगाडि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्वेले सात वटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो । केही स्थानमा टावर बनेपनि अधिकांश स्थानमा टावर बन्न नसकेको सांसद नमुनाले बताउनुभयाे ।
‘टावर निर्माणको लागि सर्वे भएर टेण्डर आह्वान भएपनि बाँके निकुञ्ज र वनका कारण काम अगाडि बढ्न सकेको थिएन’ उहाँले भन्नुभयाे, ‘अब जनतालाई सेवा दिने कामका लागि हुने विकास निर्माणमा निकुञ्ज र वनले अवरोध गर्नुहुँदैन ।’





