
काठमाडौं । चर्चित गायिका सरिता प्रजापतिको “नेपाली भेष” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका प्रजापतिले सो गीत आफ्नै युट्युब च्यानल सरिता प्रजापति अफिसियलमार्फत आज (शुक्रबार) सार्वजनिक गर्नुभएको छ ।
‘अरुको प्रोजेक्टमा काम गरे तर आफ्नै प्राजेक्टमा लामो समयपछि गीत सार्वजनिक गरेकी छु,’ गायिका प्रजापतिले समयपत्र.कमसंग कुरा गर्दै भन्नुभयो, ‘कोरोना महामारीका कारण आफ्नै प्राजेक्टमा गीत निकाल्न पाएको थिएन, लामो समय भयो गीत नआएकाले यो गीतलाई दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ ।’
राष्ट्रभावले भरिएको गीतमा आवाज तथा शब्द रचना सरिता प्रजापतिकै रहेको छ । संगीतकार अनिस श्रेष्ठको संगीत रहेको छ । गायिका प्रजापतिको हेर्दा हेर्दै जवानीले, ढाका टोपी, नेक्स्ट टाइम, जाली रूमाल, बरै, बुढाबुढी एक्सप्रेस, बारुले कम्मर लगायतका गीतहरु दर्शक श्रोता माझ परिचित छन् ।
गायिका प्रजापतिले नेपाली आधुनिक, पप, लोक गीत, नेपाल भाषाका गीतसंगै विभिन्न ५ वटा भाषाहरुमा गीतहरु गाउँदै आउनुभएको छ ।





