नेपालगन्ज १० नाइट रनको तयारी तीब्र

नेपालगन्ज । नेपालगन्ज १० नाइट रनको तयारी तीब्र चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।

समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीन वटा विश्व स्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।

नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नपालगञ्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ ।

‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियल लगायतलाई सिक्ने अवसर मिल्नेछ । धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भन्नुभयो, ‘छिमेकी देशमै विश्व स्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिनेतर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई बिशेष धन्यवाद दिन चाहन्छु ।’

बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौं २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइनेछ । यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन् ।

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन हरेक असोज ३ गते (सेप्टेम्बर तेस्रो साता) संविधान दिवसका अवसरमा हुने गर्दछ, जहाँ नेपालकै पहिलो एम्स सदस्य धारा नेपालगन्ज म्याराथन ११ बर्षदेखि निरन्तर हुँदै आएको छ ।

बाङ्सेनसँगको साझेदारीपछि नेपालगन्ज म्याराथनका विजेता सहभागी हुने अन्तर्राष्टिय दौडको संख्या बढेको छ । यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लण्डन म्याराथनमा विगत दुई बर्षदेखि अवसर दिंदै आएको छ । यस बर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ । त्यस्तै, यस बर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ ।

नेपालगन्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट बार्षिक रुपमा नियमित आयोजना भइरहेका छन् । यसमा गौघाट ग्रीन रन असोज २८ गते, राप्ती सोनारी नेचर रन कात्तिक १ गते सञ्चालन गर्ने तयारी रहेको छ । त्यसैगरी धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिवार (नोभेम्बर तेस्रो साताको शनिवार) हुँदैछ भने त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ ।

त्यस्तै कर्णाली हाफ म्याराथन मंसिर अन्तिम शनिवार, काठमाडौं २५ के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ । एम्सको दुई वटा पूर्णकालीन सदस्यता लिने नेपालगन्ज नेपालको एक मात्र सहर हो ।

Previous articleबाँकेमा प्रेस युनियनको सदस्यता अभियान सुरु
Next articleभैरहवाका नापी अधिकृतविरुद्ध पौने छ करोडको भ्रष्टाचार मुद्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here