नेपालगन्जमा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने

नेपालगन्ज । नेपालगन्जमा यही पुष ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ हुने भएको छ । ‘मेहनत, श्रृजना, उत्पादन र बस्तु : मेरै नेपालको’ भन्ने मुख्य नाराका साथ आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेले साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका सहआयोजक र साना उद्योग महासंघ तथा महिला समिति कोहलपुर नगरपालिका, खजुरा, राप्ती सोनारी, जानकी, डुडुवा र नरैनापुर गाउँपालिका समितिको सहकार्यमा गर्न महोत्सव आयोजना गर्न लागेको महोत्सव संचालन मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो ।

सो महोत्सव नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा पुष ३० देखि माघ १० गतेसम्म संचालन हुनेछ । यस पटकको महोत्सवमा बिशेष प्रकारको प्रदर्शनी रहने भएकाले दर्शकको बाक्लो उपस्थिति हुने आयोजकले आशा राखेको छ । महोत्सव संचालन मुल समितिका सह–संयोजक बिष्णु प्रसाद खनालले महोत्सवमा २ सय ५० वटा स्टल रहने बताउनुभयो । उहाँका अनुसार नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा संचालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल मेलाको मुख्य आकर्षणको रुपमा रहनेछ ।

महोत्सवमा राष्ट्रियस्तरका लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तु एवं सामाग्रीहरु, लुम्बिनी प्रदेशको मौलिक कला संस्कृतिको प्रदर्शन, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं बस्तुहरुको प्रदर्शनी, नविनतम सूचना प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी, बैंक तथा वित्तिय संघ संस्था एवं सेवा प्रदायक संघ संस्थाहरुको वर्तमान स्किमहको प्रदर्शनी, बाल उद्यान, जलपरि र फीस टनेल, सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरु, थारु परिकार तथा सम्बन्धित सांस्कृतिक झाँकीहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, लघु, कुटीर, साना उद्यमी तथा कृषकहरुलाई प्रोत्साहित गर्ने क्रियाकलापहरु र लण्डन ब्रिज प्रदर्शनीमा रहने आयोजकले बताएको छ ।

Previous articleनेपालमा प्रेस स्वतन्त्रता हननका घटना तेब्बरले वृद्धि
Next articleस्वास्थ्यतर्फ डुडुवा सर्वोत्कृष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here