
नेपालगञ्ज । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्व भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर दिवस तथा पर्व भब्य मनाउने तयारी भैरहेको बताउनुभयो ।
उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम अनुसार बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिने छ । सो अवधी भर लंगर र भण्डाराको समेत व्यवस्थापन गरिनेछ । बैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गर्नेछ । सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट (गतका) देखाउने छन् ।





