
राप्तीसोनारी । नेपाल रेडक्रस सोसाइटी कचापुर उपशाखाको सभापतिमा अम्मर बहादुर खड्का चयन हुनुभएको छ । सोमबार राप्तीसोनारी ८ शम्शेरगजमा सम्पन्न भएको १८ औ उपशाखा सभाबाट खड्का सभापतिमा चयन हुनुभएको हो ।
खड्काको सभापतित्वमा ११ सदस्य कार्य समितिको चयन गरिएको छ । शाखाको उपसभापतिमा यमुना गोसाइ, कोषाध्यक्षमा हर्क बहादुर विष्ट, सचिवमा धनसिंह वली, सहचिवमा रामा पौडेल, सहकोषाध्यक्षमा याम बहादुर रावत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सिरधर उपाध्याय, तुलाराम के.सी, महिला सदस्यमा सीता वली यादव, सदस्य टीकाराम उपाध्याय र पदेन सदस्यमा राप्तीसोनारी ८ का वडाध्यक्ष सालिकराम डाँगी चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले रेडक्रस मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने सस्था भएको बताउनुभयो ।
साथै रेडक्रसले राप्ती सोनारीमा हुने विपद् लगायतका केही समस्याहरुलाई समाधान गर्ने गरेको बताउँदै उहाँले रेडक्रस सोसाइटी कचानापुर उपशाखाको निमार्णाधिन भवन बनाउन पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी राप्ती सोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले नेपाल रेडक्रस मानविय संस्था भएको बताउँदै विपद् व्यवस्थापन, प्राकृतिक प्रकोका क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अथिती पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले रेडक्रस एक सेवामुखी संस्था भएको हुँदा यसको आफ्नो पहिचान र इतिहास भएको बताउनुभयो ।
त्यस्तै राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगीले रेडक्रस जस्तो पवित्र संस्थाको विकासका निम्ती सबैको सहयोग अनिवार्य रहेको बताउँदै वडा कार्यालयबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा उपाशाखा स्थापनामा महत्वपुर्ण योगदान पु¥याउने ८ जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कचनापुर उपशाखाका निर्वमान सभापति नरेन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक वन, विद्यालयका प्रतिनिधिहरु एवं रेडक्रसका आजिवन सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।





