मौलिक भाषा संरक्षणमा खजुरा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले मौलिक भाषा संरक्षणमा जोड दिएको छ । मौलिक भाषाको कम प्रयोगसंगै लोप हुन थालेकाले यसको संरक्षणमा पालिका जुटेको छ ।

मौलिक भाषा तथा कला संस्कृतिले समुदाय समुदायबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सौहार्दपूर्ण समाजको निर्माण गर्छ । यसको संरक्षणका लागि अहिलेको पुस्तालाई आ-आफ्नो भाषा र कला संस्कृतिबारे जानकारी दिनुपर्ने प्रशिक्षकसमेत रहनुभएका स्थानीय बल बहादुर राना बताउनुहुन्छ ।

‘अहिले सबै समुदायले आफ्नो भाषा, संस्कृति बिर्सदैँ गएको पाईन्छ,’ राना भन्नुहुन्छ, ‘स्थानीय सरकारले यस्ता कुराको संरक्षण गर्न जरुरी छ, यी कुरा लोप हुनु भनेको आ-आफ्नो समुदायको इतिहास सकिनु हो ।’

भाषा र संस्कृति समाजका समुदायसँग अन्र्तसम्बन्धित छन् । एक-अर्काको सांस्कृतिक पर्वमा सहभागि हुनु समुदायबीच दिगो सम्बन्ध निर्माणमा सहयोग गर्छ । भाषा संरक्षण गर्नुपर्ने भन्दै पालिकाले तालिम संचालन गरेको थियो ।

आदिवासी जनजाति समुदायको मौलिक भाषाको संरक्षणका लागि पालिकाले प्रत्येक वडाका युवाहरुलाई सहभागि गराएर तालिम दिएको हो । आदिवासी जनजाति समुदायमा रहेको विभिन्न जातिहरु अनुसारको भाषाका बारेमा तालिम प्रदान गरेको थियो ।

‘खासमा आफ्नो मातृ भाषा के हो, कसरी बोलिन्छ, युवा पुस्तालाई यो कुराको जानकारी दिनु एकदमै राम्रो हो,’ प्रशिक्षक लक्ष्मी चाैधरी भन्नुहुन्छ, ‘यसले आउने पुस्तालाई मेरो मौलिक भाषाको प्रयोगमा निरन्तरता दिन्छ ।’ सबै समुदायको कला संस्कृतिको जर्गेना गर्न आवश्यक रहेको चाैधरीको जोड छ ।

पालिकाले यो वर्ष प्रत्येक वडामा रहेका आदिवासी जनजाति समुदायका युवाहरुलाई उनीहरुको मौलिक भाषा तालिम संचालन गरेको र आउने वर्षदेखि यो कुरामा बिशेष कार्यक्रमहरु थपिने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताउनुभयो ।

‘भाषा तथा संस्कृति संरक्षणका लागि यो पटक संचालन गरिएको कार्यक्रम अपुग भएको जस्तो भयो,’ अध्यक्ष बिकले भन्नुभयो, ‘अर्को वर्ष धेरै व्यक्तिलाई सहभागि गराउने गरि कार्यक्रम ल्याउनपर्ने महसूस भएको छ ।’

‘मौलिक भाषा संरक्षण र प्रयोगले संस्कृति संरक्षणमा सहयोग पुग्छ, भाषाको प्रयोगले संस्कृतिको प्रचार–प्रसार हुन्छ,’ वडा नं-५ का स्थानीय दंगुवा मगन्ताले भन्नुभयो, ‘भाषाको प्रयोगसँगै सांस्कृतिक कुराको ज्ञान बढाउँछ, संस्कृति संरक्षणतर्फ युवाहरुलाई प्रेरित गर्छ ।’

खजुराले भाषा संरक्षणका लागि थारु, गुरुङ्ग, तामाङ्ग, मगन्ता (माहाउत) जातिको मौलिक भाषाबारे तालिम चलाएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन खजुराकै स्थानीय संस्था प्रंजली समृद्ध नेपालले त्यसको नेतृत्व गरेको थियो ।

हामीले पालिकाले स्थानीय भाषाको संरक्षणका लागि केही गर्न आवश्यक ठानेर नै हामीलाई दिएको जिम्मेवारी पुरा गरेको प्रंजली समृद्ध नेपालका अध्यक्ष गणेश बहादुर थापाले बताउनुभयो ।

Previous articleनाइजेरियामा बम विस्फोट : १८ जनाको मृत्यु
Next articleप्रेस युनियनले देशभर पत्रकार महासंघमा धर्ना दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here