नाइजेरियामा बम विस्फोट : १८ जनाको मृत्यु

बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको बताइएको छ । राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह र अन्त्येष्टि समारोहका साथै अस्पतालमा आक्रमण गरेको बताएको छ ।

बोर्नो राज्य बोको हराम इस्लामवादी लडाकुहरूको १५ वर्ष लामो विद्रोहको केन्द्रमा रहेको छ । जसले २० लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन् ।

बोको हरामले सन् २०१४ मा बोर्नो राज्यको चिबोक सहरबाट २७० भन्दा बढी विद्यालयका छात्राहरूलाई अपहरण गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको थियो । अधिकारीहरूले शनिबार १८ जनाको मृत्यु पुष्टि भएको बताए, जसमा बालबालिका, वयस्क र गर्भवती महिलाहरू समावेश छन् ।

केही स्थानीय मिडियाले मृत्यु हुनेको संख्या अझ धेरै भएको रिपोर्ट गरेका छन् । नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाहरूले विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएको छ ।

घटनापछि सेनाले कर्फ्यू लगाएको छ भने आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । ग्वोजालाई २०२४ मा बोको हरामद्वारा कब्जा गरिएको थियो, र २०१५ मा नाइजेरियाली सेनाहरूले फिर्ता लिएका थिए, तर समूहले त्यसपछि शहर नजिकै आक्रमण र अपहरणहरू जारी राखेको छ ।

गत नोभेम्बरमा छिमेकी योबे राज्यमा मलामीबाट फर्कने क्रममा बोको हराम विद्रोहीहरूले २० व्यक्तिको हत्या गरेका थिए । गाउँलेहरूले तथाकथित फसल कर तिर्न अस्वीकार गरेपछि विद्रोहीहरूले गुरोकायेया गाउँमा गरेको आक्रमणमा १७ जना मारिएको एक दिनपछि यो आक्रमण भएको प्रहरीले जानकारी दिएको छ । बीबीसी

Previous articleनरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया
Next articleमौलिक भाषा संरक्षणमा खजुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here