
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट एक कराेड पाँच लाख बराबरको अबैध सुन र चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।
नेपालगञ्जकाे दुई स्थानबाट गरेर ४०७ ग्राम सुन, १० के.जी. ६१३ ग्राम चाँदी र सवारी साधनकाे मुल्यसहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस बराबरको सामाग्री बरामद गरेकाे छ ।
प्रहरीले धेरै मात्राकाे अबैध सुन र चाँदीसहित बर्दिया राजापुर नगरपालिका वडा नं- ८ का ४० वर्षीय नेपाली थारु, राजापुर-४ का ४२ वर्षीय निम प्रकाश सुनार, बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वडा नं-११ का २१ वर्षीय राहुल सोनार र बाँके राप्तीसोनारी गाउँपालिका वडा नं-४ का २४ वर्षीय ओमजङ्ग चौधरीलाई पक्राउ गरेकाे हाे ।
नेपालगञ्जकाे वडा नं-११ बी.पी. चोक आसपासमा अवैध सुन र चाँदीको कारोबार हुँदै गरेकाे सूचनाका आधारमा प्रहरीकाे सर्च अपरेसनका क्रममा नेपाली थारुले चलाएको प्रदेश ०३०१-०२४ च ६७६३ नं. को कारमा सवार निमकाे साथबाट सुन जस्तो देखिने ६७ ग्राम तौल रहेको धातुको टुक्राहरु र राहुलको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायलहरु तथा तारसमेत बरामद गरेकाे प्रहरीले जनाएको छ ।
साेबारेमा अनुसन्धान गर्दा नेपालगञ्ज-२ मा रहेको महेश मुराउले संचालन गरेको पशुपती सुनचाँदी रिफाईन कारखानामा तलासी गर्ने क्रममा कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० के.जी. ४४१ ग्राम तौलकाे धातु प्रहरीले बरामद गरेकाे थियाे । घट्नाबारे थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएकाे छ ।





