
नेपालगञ्ज । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिका वडा नं-३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।





