
काठमाण्डौं । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसदहरूले मल र खादको व्यवस्था नहुँदा किसानहरू मार्कामा परिरहेको उनीहरूको भनाइ छ ।
सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नपाएर देशभरिका किसानहरू समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिनुभयो ।
सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताउनुभयो ।
सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गर्नुभयो । उहाँले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्याङ्कन नगरी मलखाद वितरण भएको छ ।’
उहाँले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसानहरू अत्यन्त मार्कामा परिरहेको दाबी गर्नुभयो ।





