
नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले जनताको अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत लगायत समग्र बाँकेबासीको अधिकार र विकासका लागि आफूले उपमेयरको कुर्सी त्यागेर संसदिय निर्वाचनमा होमिएको जिकिर गर्नुभयो ।
‘बाँके क्षेत्र नम्बर २ का जनताको स्वाभिमान र इज्जतका लागि मैले उपमेयरको उम्मेदवारी त्यागेँ । उपमेयर रहँदा मैले राज्यबाट धेरै थरि सेवा सुविधा पाइनै रहेको थिएँ । उपमेयर हुँदा जनताको अधिकार स्थापित गर्न सदन नै चाहिने भएकोले सवै सेवा, सुविधा त्यागेर संसदिय निर्वाचनमा होमिन बाध्य भएँ,’ उहाँले भन्नुभयो ।
निर्वाचन जितेर गएपछि जनताको घर दैलोमा पाइला नटेक्ने नेतासँग सजग रहन आग्रह गर्दै उहाँले आश्वासनको भरमा मतदान नगर्न सुझाव दिनुभयो । ‘मल कारखाना, उद्योग, कलकारखाना खोल्ने भन्दै भोट माग्ने नेतासँग सजग रहनु होला,’ उहाँले भन्नुभयो ।
उहाँले बाँके क्षेत्र नम्बर २ का एक उम्मेदवारप्रति लक्षित गर्दै कुर्सीका लागि दल बदल्ने नेताले भोली जिल्ला र घर नै बदल्न बेर नलगाउने बताउनुभयो । ‘पद र कुर्सीका लागि दल बदल्ने नेताले भोली पदका लागि जे पनि गर्न सक्छ । तपाई, हामी त के घर नै बदल्न सक्छन्,’ उनले भने, ‘दल बदलु नेताका कारण मधेसीको अधिकार धरापमा परेको हो ।’
उहाँले उपमेयर रहँदा सवैलाई समान ब्यवहार गरेको बताउँदै उहाँले गाउँबाट आएकालाई समेत शहरका नागरिक जस्तै ब्यवहार गरेको जिकिर गर्नुभयो । ‘गाउँबाट चप्पल लगाएर आएका होउन चाहे शहरका जुत्ता लगाउने ब्यक्ति होवस सवैलाई समान ब्यवहार गरेँ,’ उहाँले भन्नुभयो । उहाँले दुई दुई पटक मन्त्री र सांसद भइसकेका ब्यक्तिले विकासको नाममा एउटा माखोसमेत नमारेको आरोप लगाउनुभयो ।
मधेसीको अधिकारका लागि ज्यान गुमाउनेको सम्मान नभएको बताउँदै उहाँले मधेस आन्दोलनमा ज्यान गुमाउने सहिदको मर्म अनुसार काम गर्ने बताउनुभयो । ‘मघर मछ पानी विना रहन सक्दैन, त्यस्तै दल बदलु नेता पद र कुर्सी बिना बस्न सक्दैनन्,’ उहाँले भन्नुभयो । मधेसी आन्दोलनमा बलिदानी दिएकाहरुको रगत नेपाली नागरिकतामा पोतिएको बताउँदै उनले महिलाको अधिकारलाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले संसदमा जिते पनि भूइँ मान्छे भएर नै बस्ने आश्वासन दिनुभयो ।





