को हुन अमर पुन !

खजुरा । अमर सिंह पुन जुझारु र गतिशील नेता हुनुहुन्छ । नवीन सोच र संकल्पसहित अगाडि बढिरहेको नेपाली कांग्रेसको विचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आमजनतासँग परिचित नाम हो, अमर सिंह पुन ।

कांग्रेसभित्र पनि स्पष्ट र समयसापेक्ष दृष्टिकोण राख्ने छवि बनाएका नेता पुन फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट चुनावी दौडमा हुनुहुन्छ । कांग्रेसको लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा समेत रहनुभएका पुन बाँके क्षेत्र नम्बर ३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा उत्रिनुभएको छ ।

बाँके क्षेत्र नम्बर ३ शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक हिसाबले देशकै नमुना क्षेत्रका रुपमा परिचय खोज्दै गरिरहेका क्षेत्र हो । देशकै विकासमा योगदान गर्न सक्ने सामथ्र्य राख्ने यस क्षेत्रका आमजनताको रोजाइँमा पर्ने आत्मविश्वासका साथ पुन जनताबाट अनुमोदन हुने चरणमा अघि बढ्नुभएको छ । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् नेपालका पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सच्चा अनुयायी पुनमा बाँके क्षेत्र नम्बर ३ को समृद्धिको सपनालाई नेतृत्व गर्न सक्ने क्षमता देखिएको कारण पनि, यहाँका जनताले रुचाउन थालेका छन् ।

क्षेत्र नम्बर ३ का समस्यालाई राष्ट्रिय एजेन्डाका रुपमा सम्बोधन गर्दै यस क्षेत्रको समग्र विकासको लागि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । पुन भन्नुहुन्छ, ‘नेपाली जनतामा देखिएको निराशालाई चिर्दै जेन्जी विद्रोहको मर्म अनुसार देशको समृद्धिको लागि काम गर्ने संकल्पसहित मैले उम्मेदवारी दिएको छु । नेपाली कांग्रेस अहिले आमजनता र युवाको भावनालाई बोकेर हिँडिरहेको पार्टी हो । जस्तोसुकै संकटको बेला पनि हामी देशलाई माथि राखेर काम गर्ने प्रतिज्ञा गर्छौं ।’

पुनको जन्म २०२७ साल अषाढ ३ गतेको दिन तत्कालीन राँक गाविस वडा नम्बर ८ हालको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोल्पामा भएको थियो । उहाँको पिताको नाम विरबहादुर पुन र माताको नाम नन्दु पुन हो । पुनको बाल्यकाल गाँउमै वितेको थियो । उहाँ मध्यम परिवारको सदस्य हुनुहुन्छ । प्राथमिक तहको शिक्षा उहाँले गाउँकै विद्यालयबाट पूरा गनुभयो । काम विशेषले करिब १८ वर्षको उमेरमा उहाँलाई भारत प्रस्थान गर्नुपरेको थियो । भारतमै उहाँले हाईस्कूल तहको अध्ययन हासिल गर्नुभयो । यसरी विभिन्न उत्तरचढावका साथ उहाँको बाल्यकाल बित्यो । सानै उमेरदेखि पुन चलाख, निडर र सामाजिक काममा नेतृत्व गर्ने दख्खल राख्नुहुन्थ्यो ।

राजनीतिक चेत भएको परिवारमा जन्मेकाले उहाँले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधिमा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । पुन भारतबाट २०५० सालमा नेपाल फर्किनुभयो । नेपाल फर्केपछि उहाँ गाउँघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर हुन थाल्नुभयो । पञ्चयात कालमा बहुदलीय व्यवस्था पुनःस्थापनाको लागि विभिन्न राजनीतिक अभियानमा सक्रिय बन्नुभएका पुन बहुदलको पुनःस्थापनापछि औपचारिक रुपमा राजनीतिमा होमिनुभयो । तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संङ्गठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन पुनले वि.सं. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । २०५२ बाट सुरु भएको माओवादी जनयुद्धको मुख्य निशानामा पर्नुभएका पुन जिल्लामा बस्ने वातावरण नभएपछि वि.सं. २०५६ सालदेखि नेपालगञ्जमा बस्नुभयो । २०५८–०५९ मा नेपालगञ्ज रहँदा पनि द्वन्दको प्रभाव बद्ढै गयो र उहाँमाथि हुन सक्ने खतराको जोखिम रोक्न प्रशासनकै सल्लाहमा काठमाडौँमा बस्न थाल्नुभयो ।

माओवादीले उहाँमाथि पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो । २०६२-२०६३ को दोस्रो जनआन्दोलनमा महत्वपूर्ण सहभागिता जनाउनुभएका पुन प्रहरी दमनबाट घाइते हुनुका साथै केही समय हिरासतमा पनि बस्नुभएको थियो । पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखि हालसम्म निरन्तर महासमिति सदस्य हुनुहुन्छ । २०६२ सालमा भएको कांग्रेसको ११औं अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित हुनुभएका पुन २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित हुनुभयो ।

२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट पुन संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो। कोइराला परिवारसँग निकट रहेर काम गर्नुभएका पुन नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाको विशेष योजनाकार मध्येका एक हुनुहुन्छ। उहाँले कोइरालाको दैनिकी कार्य सञ्चलानको लागि निकट रहेर सहयोग गर्नुभयो ।

उहाँले संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गर्नुभयो । हिमाल हाम्रो शिर हो, पहाड हाम्रो छाती हो र तराई हाम्रो पाइला होु भन्ने भावनालाई शिरोपर गर्दै तत्कालीन प्रचन्ड नेतृत्वको सरकारबाट मन्त्री बन्नको लागि गरिएको अनुरोधलाई समेत बेवास्ता गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको कमाण्ड समालेका पुन अहिले सोही आन्दोलनको जगमा निर्माण भएको प्रदेश सभापतिको पदमा आसिन छन् । नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४औं महाधिवेशनबाट उनी लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित हुनुभयो। पुन २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सिंचाई राज्यमन्त्री समेत बन्नुभयो ।

सधैं नेतृत्वको प्रतिपक्ष भूमिकामा रहने छवि बनाएका पुन नेपाली कांग्रेसको प्रभावशाली नेता मानिनुहुन्छ । आवश्यकता र उपयुक्तताको आधारमा पार्टीमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने पुनले पार्टीमा सादगी र सरल नेताको परिचय बनाउनुभएको छ । सालिन र सरल नेताको छबि बनाउनुभएका पुन बाँके क्षेत्र नम्बर ३ का जनताको भरोसालाई टुट्न नदिने बाचासहित चुनावी मैदानमा हुनुहुन्छ । बाँके क्षेत्र नम्बर का ३ आमजनताले यहाँको समृद्धि, विकास अनि युवाको सकारात्मक एजेन्डा पूरा गर्ने अभिभारा आफूलाई सुम्पिने विश्वास व्यक्त गर्नुहुन्छ, पुन ।

Previous articleप्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै
Next articleडुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ: शुधान्सु कोइराला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here