
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का बिर्ता गाउँका युवा इन्तजार भन्ने मोहम्मद अरवी खाँको हत्यारा एक वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीले खाँको हत्या कार्यमा संलग्न सोही ठाउँका अफजल पठानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपाक पातलीका अनुसार प्रतिवादी पठानलाई नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट पक्राउ गरिएको हो ।
पठानलाई फागुन ५ गते पक्राउ गरिएको थियो । पठान घट्ना घटेको दिनदेखि फरार भएका थिए । लुकीछिपी भारत बस्दै आएका पठान नेपाल आउन लागेका बेला विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सूचना अधिकारी पातलीले बताउनुभयो ।
बिर्ता गाउँका २२ वर्षीय खाँ चैत्र १७ गते राती ११ बजेदेखि घरबाट सम्पर्कविहिन भएका थिए । भोलिपल्ट २०८० चैत्र १८ गते घरदेखि पाँच सय मिटर पुर्वमा गंगारामपुर्वादेखि तेलियनपुर जाने बाटोमा धारिलो हतियार प्रयोग गरि मारेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीका अनुसार पठानको दुई वटा अन्य घट्नामा संलग्नता रहेको छ । प्रहरीका अनुसार २०६१ असार ७ गते हफिजुल्ला खाँको हत्या र २०६२ भदौ ११ गते रियाज खाँको कर्तव्य ज्यान घट्नामा पठानको संलग्नता रहेको छ ।





