
नेपालगन्ज । नेपालगन्जको सरस्वती माध्यमिक विद्यालयमा संचालनमा रहेको पावर फोर एवाई कार्यक्रमको समिक्षा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मंच (एसडिएफ) बाँकेले संचालन गरेको सो परियोजनाको बिहीबार समिक्षा गरिएको हो ।
परियोजनाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोगीको रुपमा आफ्ना कार्यक्रमहरु संचालन गरेको थियो । समिक्षा कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुरेश कुमार परसैलाले परियोजनाले विद्यालयलाई सहयोग पुगेको बताउनुभयो ।
उहाँले सुरुमा आफुलाई परियोजनाका बारेमा बुझ्न गाह्रो भएको भएपनि पछि स्पष्ट बुझाई हुँदा विद्यालयका लागि एकदमै राम्रो कार्यक्रम रहेको बताउनुभयो । विद्यार्थीलाई पनि धेरै सर्पोट मिलेको छ, प्रधानाध्यापक परसैलाले भन्नुभयो, कार्यक्रमको लक्षित वर्गका विद्यार्थीलाई प्रोत्साहित गरेको र यसले उनीहरुमा शिक्षाप्रतिको लगावमा वृद्धि भएको पाइएको बताउनुभयो ।
यस्तै विद्यालयका शिक्षक शैलेन्द्रनाथ सापकोटाले विद्यार्थी र शिक्षकबीचको व्यवहारमा धेरै सकारात्मक परिवर्तन ल्याएको साथै संस्थाले दिएको सहयोगमार्फत विद्यार्थीले आफ््नो इच्छासमेत पुरा गर्न पाएको बताउनुभयो । त्यस्तै कमजोर विद्यार्थीको क्षमता वृद्धि गर्नका लागि संचालन गरिएको अतिरिक्त कक्षाले धेरै विद्यार्थी लाभान्वित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
यसैगरी अर्का शिक्षक अर्जुन कुमार यादवले परियोजका कार्यक्रमहरुमार्फत विद्यार्थीहरुमा धेरै सकारात्मक कुराहरु सिकाउन भएको बताउनुभयो । उहाँले संस्थालाई अगामी दिनमा यस्ता कार्यक्रमहरु विद्यालयस्तरमा आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस परियोजनाका फिल्ड अधिकृत सुमित्रा चौधरीका अनुसार २०२१ देखि हालसम्म विद्यालयका २३ जना बालिकाहरुलाई छात्रवृत्ती (९ कक्षादेखि १२ सम्म) प्रदान गरिएको छ । अतिरिक्त कक्षामार्फत विद्यालयका १६० जना लाभान्वित भएका छन् भने समग्रमा यस वडा नम्बर १० का १६० जना युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ ।
यस्तै विद्यालयमा ५० हजारको अक्षय कोष निर्माण गरिएको छ । समक्षा कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो ।





