
महिलाका लागि सबैभन्दा बढी प्रिय भनेकै कपाल हो । कालो, लामो, बाक्लो र सिल्की कपालले सुन्दरतामा निखारता आउँछ भन्ने विश्वास धेरैमा छ ।
यसैले पनि आफ्नो कपालको स्याहार गर्न उनीहरु निकै मिहिनेत गर्ने गर्दछन् । फिल्म अभिनयमा सक्रिय अभिनेत्रीहरु त झन् कपाललाई लिएर बढी नै गम्भीर हुने गरेका छन् । कपालको हेरचाहमा उनीहरुको मोटो रकम खर्च हुन्छ ।
केही अभिनेत्रीहरुले भने फिल्मको कथा माथिको न्यायका लागि वर्षौंदेखि महंगो स्याम्पूले स्याहार गरेको कपाल नै मुण्डन गरेका छन् । फिल्म ‘प्रेमलीला’ मा दीपा शिखा खड्का, ‘जाइरा’ मा नम्रता श्रेष्ठ, ‘आमा’ मा सुरक्षा पन्तले आफ्नो चरित्रलाई जीवन्त बनाउन कपाल मुण्डन गर्नुभएको थियो । अब थप एक जना अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गर्नुभएको छ ।
कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राख्नुभएको छ । उहाँको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ ।
पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गर्नुभएको उहाँले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको बताउनुभएको छ । कपाल नै मुण्डन गर्न तयार हुनुले उहाँ यो फिल्मको चरित्रमा कुन हदसम्म डुब्नुभएको छ भन्ने प्रस्ट्याउँछ ।
‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ । फिल्मका लागि केकीले कपाल मुण्डन गरेपछि दर्शकहरुको ‘बोक्सीको घर’ प्रति कौतुहुलता जागेको छ ।





