
काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा पद बहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने बताउनुभएको हो ।
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि भेरी अस्पताल नेपालगञ्ज, डडेल्धुरा अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नुभएको छ ।
उहाँले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट संक्रमित भएकाको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।





