
काठमाडौं । बिहीबार चार वाणिज्य नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चार वटै बैंकले जेठ १ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
यस दिनसम्म नयाँ ब्याजदर कायम गर्नेमा लक्ष्मी बैंक, सानिमा बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
माछापुच्छ्रे बैंकले कुन खातामा कति दिँदैछ ब्याज ?
माछापुच्छ्रे बैंकले संचालनमा ल्याएको १४ वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।
बैंकको बेसरेट ७ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १४ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा व्याक्तिगततर्फ होम कर्जामा ५ वर्ष अवधिसम्मको लागि ९.८९ प्रतिशत १० वर्षे अवधिको कर्जामा १०.८९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै, अटो कर्जामा ५ वर्ष अवधिको कर्जामा ९.९९ प्रतिशत, १० वर्षे अवधिको कर्जामा १०.९९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य कर्जामा न्यूनतम १०.२४ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंकको नयाँ ब्याजदर
लक्ष्मी बैंकले हाल ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
साथै बैंके ट्रम डिपोजिटमा ३ महिनादेखि ६ महिनाका लागि संस्थागत ६.५ प्रतिशत र व्यक्तिगत ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ६ महिनाभन्दा बढी भएमा संस्थागत र व्यक्तिगतका लागि ७ प्रतिशतसम्म तोकेको छ । साथै रिक्युरिङ डिपोजिटमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र स्ट्रक्चर्ड डिपोजिटमा संस्थागतका लागि ७.५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी कर्जाका लागि बैंकले ६.७९ प्रतिशत बेस रेट तोकेको छ । साथै बैंकले उक्त बेसरेटमा थप अधिकतम ओभरड्राफ्ट कर्जा, इम्पोर्टर कर्जा, सप्लाइ फाइनान्स, ट्रम लोन, होम लोन, अटो लोन, एजुकेशन लोन, पर्सनल लोनलगायतमा ५ प्रतिशतसम्म थप गरी ब्याजदर लिन सकिने जनाएको छ ।
हिमालयन बैंक
बैंकले निक्षेपमा २ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर रहेको छ भने कर्जाको ब्याजदर आधार दरमा ३.७५ प्रतिशत देखि ५ प्रतिशतसम्म छ ।
बैंकको आधार दर ६.७५ पतिशत रहेको छ । बैंकले प्रबाह गर्ने ओभरड्राफ्ट कर्जाको ब्याजदर आधार दरमा ५ प्रतिशत बढी छ । त्यस्तै टर्म लोन र डिमान्ड लोनको ब्याजदर पनि आधार दरमा थप ५ प्रतिशत छ ।
घरजग्गा कर्जा ७ वर्षसम्मका लागि ९.९९ प्रतिशत र त्योभन्दा माथिका लागि आधार दरमा थप ५ प्रतिशत रहेको छ । त्यस्तै शैक्षिक कर्जा र किसान कर्जा पनि आधार दरमा ५ प्रतिशत थप छ ।
बैंकले मुद्दति निक्षेपमा ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ । व्यक्तिगततर्फको मुद्दति निक्षेपमा ३ महिनाका लागि ४ प्रतिशत, ६ महिनाका लागि ६ प्रतिशत, ९ महिनाका लागि ६।५० प्रतिशत र १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकिएको छ । मुद्दति निक्षेपको न्यूनतम बचत रकमको सीमा १० हजार रुपैयाँ बराबर छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले जेठ महिनाका लागि मुद्दति निक्षेपमा नयाँ ब्याजदर तोकेको छ ।
बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ ।
यस प्रकृतिको निक्षेपका लागि न्यूनतम बचत रकम ग्रामीण भेगका शाखाका लागि १० हजार र काठमाडौं उपत्यका बाहिरका सहरी क्षेत्रका शाखाका लागि ५० हजार र उपत्यकाभित्रका शाखाका लागि १ लाख रुपैयाँ बराबर तोकिएको छ ।
संस्थागततर्फको मुद्दति निक्षेपमा भने ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ भने सानिमा एनआरएन मुद्दति निक्षेपमा ४ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तो निक्षेपको न्यूनतम अवधि २ वर्ष छ ।
सानिमा दीर्घायु बचत खाता, सानिमा सहज बचत खाता, सानिमा मेरो बचत खाता, सानिमा स्पेसल तलब खाता, र सानिमा दीर्घायु तलब खाताका लागि समान ३.५१ ब्याजदर तोकिएको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको बेसरेट ६.२३ प्रतिशत र ब्याजदर स्प्रेड ७.०७ प्रतिशत रहेको छ ।





