
राजापुर । कोरोना संक्रमणका कारण घरमै बसेको अवस्थामा पनि अध्ययन कार्यलाई सुरक्षित तरिकाले संचालन गर्न सकिने बिषयमा बर्दियाको राजापुर क्षेत्रमा सडक नाटक प्रदर्शन गरिएको छ ।
कोरोना संक्रमणका कारण बिद्यालय बन्द भएपछि बालबालिका घरमै बस्नुपर्ने र सो अवस्थामा पनि सुरक्षित तरिकाले अध्ययन कार्यलाई संचालन गर्न सकिने शन्देश पुर्याउन राजापुर नगरपालिका क्षेत्रमा सडक नाटक प्रदर्शन गरिएको हो ।
राजापुर नगरपालिकाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले संचालन गर्दै आएको सिकाई परियोजनाको आयोजनामा राजापुर नगरका ६ स्थानमा उक्त सडक नाटक प्रदर्शन गरिएको स्याक नेपालका सुपरभाईजर दशलाल थारुले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नं ६ को जोगीपुर र महुवा, वडा नं ८ को भोगपुर र वडा नं १० को मंगलपुर गाउँमा सडक नाटक प्रदर्शन गरिएको थियो । सडक नाटकलाई राजापुर नगरपालिका वडा नं ६ को वडास्तरीय युवा क्लबले प्रस्तुत गरेको थियो । सडक नाटकको नेतृत्व क्लबका अध्यक्ष ठाकुर प्रसाद थारुले गर्नुभएको थियो ।
नाटकमा १० जना कलाकार सहभागि थिए । बाँके तथा बर्दियामा स्याक नेपालले सिकाई परियोजनामार्फत शैक्षिक क्षेत्रको सुधार, भौतिक संरचना निर्माण, नीति निर्देशिका निर्माण, गुणस्तरीय सिकाई उपलब्धीका लागि बिभिन्न कार्यहरु संचालन गर्दै आएको छ ।





