
नेपालगञ्ज । मानव मलमुत्रजन्य फोहार व्यवस्थापन बिनियम २०७८ सम्बन्धी तर्जुमा गरिएको छ । नेपालगञ्जमा फोहरजन्य बस्तु व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्दै आइरहेका बीचमा आइतबार बिनियमबारे तर्जुमा गरिएको हो ।
छलफलमा बोल्दै नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले जतिसक्दो छिटो मानव मलमुत्रजन्य फोहर व्यवस्थापन प्लान्ट निर्माणका लागि सहयोगी निकायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि नेपालगञ्जले पनि ५० लाख बजेट छुट्टयाएको भएपनि आवश्यक परे थप बजेट छुट्टयाउने बताउनुभयो ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले नेपालगञ्जमा ठुलो समस्या निम्तिने सम्भावना दिनप्रति दिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसको व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने र आवश्यक सहयोग संघ संस्थाले पनि उपलब्ध गराउन आग्रह गर्नुभयो ।
छलफलमा एस एन भि नेपालका सिटी अफिसर सुरज राजभण्डारीले मानव मलमुत्रजन्य फोहर व्यवस्थापन बिनियम २०७८ संगसंगै नेपालगञ्ज शहरी सरसफाई योजनालाई पालिकाले पास गर्न अनुरोध गर्नुभएको थियो ।
त्यस क्रममा उपमेयर थापाले शहरी सरसफाई योजनाको खाका निर्माण गरिएको भएपनि पास गर्न बाँकी रहेकाले सो योजनालाई एक हप्ताभित्र कार्यपालिकाबाट पास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मलमुत्रजन्य फोहार व्यवस्थापनका लागि हालसम्म केही गरिएको छैन, उपमेयर थापाले भन्नुभयो, तत्कालका लागि कुनै खाका बनाएर भएपनि कार्य गर्न सकिने भए राम्रो हुने थियो । कसरी व्यवस्थापन गर्न सकिन्छ सम्भावना खोजी गरौं । उहाँले दिशाजन्य लेदो व्यवस्थापन प्लान्ट निर्माणका लागि एस एन भि नेपाललाई छिट्टै डोनर समिट गर्नका लागि अनुरोध समेत गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका, एस एन भि नेपाल, इको कन्र्सन प्रालि, वास एस डिजि र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको संयुक्त सहकार्यमा आयोजना गरिएको छलफलमा उपमेयर थापाले कानून बनाएर कार्ययोजना निर्माण गर्न अघि बढनेमा जोड दिनुभयो ।
छलफलमा तयार गरिएको बिनियम २०७८ का बारेमा इको कन्र्सनका प्रज्वल श्रेष्ठ, कृष्णराम ऐन्दो र डा.चिरन्जिवीले प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा नेपालगञ्जका वडा नं ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, सरसफाई क्षेत्रका कर्मचारी, गेरुवाका अध्यक्ष कृष्णजंग शाह, एस एन भि नेपालका शुसाशन सल्लाहकार मनिमा बुढाथोकी, स्वच्छता बित्त सल्लाहकार अभय सिग्देल, सिटि अफिसर राजभण्डारी, लगायतको उपस्थिति रहेको गेरुवाका कार्यक्रम संयोजक गफ्फार अलि शेषले जानकारी दिनुभयो ।
नेपालगञ्जमा मानव मलमुत्रजन्य फोहर व्यवस्थापन सम्बन्धमा एस एन भि नेपालको सहयोगमा गेरुवाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।






