
काेहलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बदलिँदो समय र प्रविधिको विकाससँगै पार्टीका गतिविधिलाई डिजिटल प्रविधिसँग जोड्न नसके संगठन कमजोर हुने बताउनुभएकाे छ । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिले शुक्रबार कोहलपुरमा आयोजना गरेको डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उहाँले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयाे ।
पार्टीका गतिविधि, संगठनात्मक संरचना तथा चुनावी अभियानलाई डिजिटल माध्यमसँग जोड्न सके मात्रै बदलिँदो राजनीतिक परिवेशमा प्रभावकारी रूपमा अघि बढ्न सकिने उहाँको भनाइ थियो । केन्द्रीय समितिले कांग्रेसलाई प्रविधिमैत्री संगठनका रूपमा विकास गर्ने निर्णय गरेअनुसार आफू परामर्शका लागि बाँके आएको उहाँले जानकारी दिनुभयाे ।
पार्टीका तल्लो तहसम्म डिजिटल प्रविधिको प्रयोग र त्यसको प्रभावबारे जानकारी पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रविधिको सही सदुपयोग गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयाे । उहाँले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत डिजिटल प्रविधिको प्रयोगले चुनावी परिणाममा प्रभाव पारेको दाबी गर्नुभयाे ।सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र अल्गोरिदमको प्रयोगमार्फत मतदाताको धारणा प्रभावित पार्ने काम भएको उहाँको भनाइ थियो ।
प्रविधिको प्रयोगलाई केवल प्रचारप्रसारमा मात्र सीमित नराखी यसको प्रभाव, सम्भावना र चुनौतीबारे पनि कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई डिजिटल प्रविधिसँग जोड्नु अपरिहार्य भइसकेको बताउनुभयाे । प्रविधिको दुरुपयोग गरेर कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उहाँले त्यसप्रति सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयाे ।
पार्टीका हरेक गतिविधि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न र सकारात्मक सन्देश प्रवाह गर्न पनि उहाँले सुझाव दिनुभयाे । आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका गतिविधिलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल र परामर्श गर्न कार्यक्रम आयोजना गरिएको गौडेलले बताउनुभयाे । निर्वाचनका बेला मात्रै नभई नियमित रूपमा पनि डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।
कांग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पूर्णप्रसाद आचार्यले डिजिटल प्रविधिको प्रयोगले पार्टीका गतिविधिलाई थप चलायमान र प्रभावकारी बनाउन सकिने बताउनुभयाे । प्रविधिको सही प्रयोग गर्न सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उल्लेख गर्दै उहाँले युवालाई पार्टीसँग जोड्ने अभियानका रूपमा पनि डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयाे ।
नगर सभापति वीरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, कांग्रेस बाँकेका सचिव सञ्जु कुमारी थारु, क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति पोषण केसीलगायतले सूचना तथा प्रविधिको युगमा पार्टीका गतिविधि डिजिटल माध्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएकाे थियाे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि गौरव गिरीले डिजिटल प्रविधिको उपयोगिता र पार्टी संगठनमा यसको प्रभावकारी प्रयोगका विषयमा जानकारी गराउनुभएकाे थियाे । पार्टी उपसभापति दिपेन्द्र चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रविन शर्माले गर्नुभएकाे थियाे ।






