
साहिल शेष, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाजपढि अलबिदा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
रमजान महिनाको अन्तिम पर्ने शुक्रबार मनाइने अलबिदा पर्व आज नेपालगन्जका विभिन्न मस्जिदहरूमा दिउँसो अलबिदाको सामूहिक नमाजपढि अलबिदा पर्व सम्पन्न भएको हो ।
नेपालगन्जस्थित जामा मस्जिद, फुलवारी मस्जिद, गौसिया मस्जिद, धम्बोझी मस्जिद लगायत विभिन्न मस्जिदहरूमा अलबिदाको विशेष नमाज पढेर इस्लाम धर्मावलम्बीहरूले अलबिदाको शुभकामना साटासाट गरि अलबिदा पर्व मनाएका हुन ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको आज अन्तिम शुक्रबार परेको छ, जुन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिन्छ ।
विशेष नमाज अलबिदा सकिंदा रमजान रोजा आफुबाट बिदा भएको धार्मिक मान्यता रहेको छ । यस दिनलाई सानो ईदका रूपमा पनि मनाइने धार्मिक अगुवाहरू बताउँछन् ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान शुरू भएको आज २७ दिन भएको छ । रमजान ईस्लामिक क्यालेन्डर अन्तर्गत एउटा महत्त्वपूर्ण महिना हो ।
यहि महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा महत्त्वपुर्ण र पवित्र महिनाको रूपमा मानिन्छ ।
ईस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अर्न्तगत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानुल मुबारक भनिन्छ ।
एक महिना सम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरूलाई उपवास ब्रत अनिवार्य बस्नुपर्छ, जसलाई रोजा भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरूले मिरमिरे बिहानदेखि सुर्यास्त नहुन्जेलसम्म प्रत्येक दिन एक महिना सम्म पानी समेत नखाई व्रत बस्ने गर्छन ।
रोजा जस्तो कठिन व्रत गर्ने ब्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी, बालबालिका, गर्भवती महिला र महिनावारीको समयमा मात्र व्रत बस्न अनुमति नभएको धार्मिक धर्मगुरूहरू बताउँछन् ।
तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाडिएको छ । पहिलो १० दिनको अवधिलाई रहमत (दयामाया) दोस्रो १० दिनको अवधिलाई बरकत (फलिपाप) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट क्षमा पाउने) मुस्लिमहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन ।
यस महिनामा मुस्लिम समुदायले फितरा जनही एक किलो ७५० ग्राम गहुँ वा सो मुल्य बराबरको रुपैया निकाल्नु पर्छ, भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकालनु पर्छ ।
उक्त फितरा, जकात गरीब, असहाय , दिनदुखी वा मदरसामा ईदको नमाज पढ्नु भन्दा अगावै दिनुपर्ने धार्मिक मान्यता रहेको छ । रमजानको अन्तिम दिन साँझ चन्द्रमा हेरेसँगै भोलिपल्ट ईदुल-फित्र मनाइन्छ ।





