
नेपालगन्ज । नेपालगन्जस्थित आईशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयका विद्यार्थीलाइ तीन महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । तालिमको समापनका अवसरमा सहभागी छात्राहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
सूचना तथा प्रविधिसम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम शनिबार एक औपचारिक कार्यक्रमबीच सम्पन्न भएको छ ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगन्जका वरिष्ठ शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा २९ जना छात्राहरूको सहभागिता रहेको थियो । तालिमका क्रममा सहभागीहरूले कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ, एमएस अफिस लगायतका सीप हासिल गरेका छन् ।
कार्यक्रमको सुरुवात आइडियल पब्लिक माध्यमिक विद्यालयका उर्दू तथा अरबी भाषाका शिक्षक मौलाना अब्दुल मोइद खानले धार्मिक ग्रन्थ कुरान शरीफको पाठ वाचन गरी गर्नुभएकाे थियाे । कार्यक्रममा वक्ताहरूले सूचना प्रविधिको वर्तमान युगमा कम्प्युटर शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागी छात्राहरूलाई आग्रह गरेका थिए ।
यस्ताे सीपमूलक तालिमले छात्राहरूलाई आधुनिक प्रविधिसँग जोड्नुका साथै शैक्षिक तथा व्यावसायिक क्षेत्रमा दक्षता हासिल गर्न र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । विद्यालयका प्रधानाध्यापक कश्फुद्दुजा खानले छात्राहरूको शैक्षिक गुणस्तर अभिवृद्धि र व्यावहारिक सीप विकासका लागि विद्यालयले आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।
विद्यालयका संस्थापक अध्यक्ष एवम् आइडियल पब्लिक माध्यमिक विद्यालयका अध्यक्ष बद्रे आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले तालिममा सहभागी छात्राहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयाे । तालिमलाई सकील अहमद राईले प्रशिक्षण दिनुभएको थियाे । समापन कार्यक्रममा मदरसाका संस्थापक सदस्य मोहम्मद आलमीन राईलगायत विद्यालयका शिक्षक, सहायक प्रशिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।






