
नेपालगञ्ज । पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका हुन ।
जिल्लामा पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य सवेन्द्रनाथ शुक्लाले मनपरी गरेको र स्थानीय निर्वाचनमा पार्टीको जिल्लास्तरको नेतृत्वसंग कुनै सुझाव सल्लाह नगरी कार्यकर्ताको मनोबल गिराउने खालको गतिबिधि भएकाले आफुहरुले सामूहिक राजीनामा दिएको महिला नेतृ रेखा गुप्ताले जानकारी दिनुभयो ।
“पार्टीभित्रको रवैया ठिक छैन, केन्द्रीय कार्यकारीणी सदस्य शुुक्लाको मनपरी छ,” महिला नेतृ गुप्ताले भन्नुभयो, “आफुखुसी गरेका छन्, त्यसकारण आफुहरुले राजीनामा दिएका छौं । अझै करिब सय जना जति नेता तथा कार्यकर्ताले राजीनामा दिने तयारी छ ।”
राजीनामा दिनेहरुमा लोसपाका नेता एवं नेपालगञ्जका पुर्वमेयर तथा वरिष्ठ अधिवक्ता बिजय कुमार गुप्ता समेत छन् ।
सामूहिक राजीनामा सम्बन्धि जारी बिज्ञप्तिमा जिल्लाको जनसमस्याको बारेमा नेतृत्वलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधान गराउनतर्फ ध्यान नदिएको र संबिधान संशोधन बिधेयक तथा नेपालगञ्ज बिश्वबिद्यालय बिधेयक पारि गर्न असहयोग गर्ने नेकपा एमालेसंग बिभिन्न बिभिन्न स्तरमा सहकार्य गरेकाले हामी आजको मितिदेखि लोकतान्त्रिक समाजवादी पार्टीको सम्पूर्ण पद त्याग गरिएको उल्लेख छ ।





