
राप्तीसाेनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ स्थित नेपाली कांग्रेसका उम्मेदवार कान्छा थारुमाथि आक्रमण गर्ने प्रयास गरिएको छ ।
नेकपा (माओबादी केन्द्र)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार मिनराज खड्का ‘सन्तोष’ सहितका कार्यकर्ताहरु गएराती कान्छाको घरमै पुगेर आक्रमण प्रयास गरेका हुन् ।
उम्मेदवार कान्छाका अनुसार गएराती करिव १२ बजेतिर १५/२० वटा बाईकमा पुगेका माओबादी कार्यकर्ताले आधा घण्टासम्म घरमा घेरा हालेका थिए ।
‘निर्वाचनको प्रचार प्रसार सकेर म घरमा सुत्ने तयारीमा थिए, माओबादीका उम्मेदवार सन्तोषसहित उनका कार्यकर्ताहरु मेरो घरमा आईपुगे, बाहिर मोटरसाईकलको हर्न बजाउँदै, मेरो घर घेरा हाले,’ उहाँले भन्नुभयो ‘आधा घण्टा जति बसेर उनीहरु त्यहाँबाट निस्केका थिए ।’
आफुले यस विषयमा ईलाका प्रहरी कार्यालय धामपुरमा तत्कालै खबर गरेको र माओबादी कार्यकर्ताहरु निस्केपछि प्रहरी पुगेको कान्छाले बताउनु भयो ।
‘म माथी आक्रमण गर्ने उद्देश्यले नै उनीहरु आएका हुन, घटनामा स्वयं उम्मेदवार नै सामेल हुनुले यो कुराको पुष्टी गर्दछ,’ कान्छाले भन्नुभयो ।
उक्त वडामा कान्छा कांग्रेसका बलिया उम्मेदवार मानिनु हुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा काछा निर्वाचित भएर पाँच वर्षसम्म जनताको सेवा गर्नु भएको थियो ।
कान्छासँगै चुनाव लडेर पराजित भएका माओबादीका उम्मेदवार खड्का यसपटक फेरीपनि पराजित हुने निश्चित भएपछि निर्वाचन भाँड्न उनले विभिन्न शैली अपनाउन थालेको राप्ती सोनारी ४ का स्थानीय बासिन्दा बताउँछन् ।
‘कान्छा थारुले ५ वर्षसम्म जनप्रतिनिधी भएर वडाको विकासमा धेरै राम्रो काम गर्नु भएको छ, वडाका अधुरा कामलाई पुरा गराउनका लागि फेरीपनि कान्छालाई निर्वाचित गराउने यहाँका अधिकांस मतदाताको भित्री ईच्छा छ,’ यहाँका स्थानीय भन्छन् ।
राप्ती सोनारी ४ मा थारु समुदायको बाहुल्यता रहेको छ । निर्वाचनमा उम्मेदवारलाई जिताउन यहाँ थारु समुदायकै हात हुन्छ । यहाँका थारु लगायत सबै समुदायले यसपटक पनि कान्छालाई जिताउने सोच बनाएको चर्चा चलेको छ ।





