चुनाव अवधिभर सुर्खेतमा मदिरा बिक्री वितरणमा रोक

सांकेतिक तस्बिर

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाइ गर्ने निर्णय गरेको हो ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकमस्थित रिमझिम चोकमा विहीबार राति झडप भएपछि जिल्ला प्रशासनले दलहरुलाई छलफलका लागि बोलाएको थियो ।

छलफलमा सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित सबै दलका प्रमुख÷प्रतिनिधिहरुको उपस्थिति रहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लाबासीमा अपिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘आम सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, निर्वाचनविरोधि सन्देश प्रवाह गर्नेजस्ता अवाञ्छित गतिविधिहरु नगर्न/नगराउन र प्रचलित कानून एवं निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि भएमा कानूनी कारबाही गर्न सचेत गराइन्छ ।’

Previous articleबर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला
Next articleबाँकेका बिभिन्न स्थानहरुमा नमूना मतदानको अभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here