
बाँके । कोरोनाको कहर बढ्दै गएको नेपालगञ्जमा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले कोरोनाको रिपोर्ट नै नआउँदै संक्रमितलाई घर पठाएको छ ।
श्रोतका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण रिर्पोट नआउँदै स्वास्थ्य शाखाले संक्रमितहरुलाई डिस्चार्ज गरेको पाइएको हो ।
नेपालगञ्ज क्वारेन्टिनमा बुधबार ११५ जनाको स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालमा पठाइएको थियो । जसमा क्वारेन्टिनमा रहेका ५९ जनाको स्वाब थियो । अस्पतालमा भएको परीक्षणबाट १० जनामा संक्रमण देखिएपछि बाँकी रहेका सबैलाई घर पठाइएको थियो ।
क्वारेन्टिनबाट भेरीमा पठाइएको स्वाबमध्ये अर्को लटमा फेरि क्वारेन्टिनका ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा खैलाबैला मचिएको छ ।
स्वास्थ्य शाखाले क्वोरिन्टनबाट संकलित स्वाबबारे भेरीबाट जानकारी नलिनु र भेरी अस्पतालले स्वास्थ्य शाखालाई परीक्षणमा बाँकी रहेका स्वाब बारे सूचना नदिँदा भोलिपल्ट संक्रमण देखिएका ११ जना एक दिन पहिले नै घर पुगेको पाइएको छ ।
सबैको रिपोर्ट नै नआउँदै उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख पदनाम जनस्वास्थय अधिकृत राम बहादुर चन्दले पठाएको विवरण अनुसार पोजिटिभ बाहेकलाई डिस्चार्ज गरि घर पठाईएको जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।
क्वोरिन्टनको व्यवस्थापकमा जो भएपनि यकिन सूचना लिने–दिने र समन्वय सहकार्य गर्ने काम स्वास्थ्य शाखा र प्रमुखको भएपनि सञ्चारमाध्यममा सार्वजनिक समाचारमा एकतर्फीरुपमा एक व्यक्तिलाई दोषी बनाइएको छ । ‘आफुहरुलाई डिस्चार्ज गर्ने अनुमति दिएपछि गरिएको हो’ जनस्वास्थ्य निरिक्षक बस्नेतले भन्नुभयो, ‘डिस्चार्जका लागि प्रमुखले पत्र नै पठाउनुभएको थियो ।’
यता स्वास्थ्य शाखा प्रमुख चन्दले झुक्किएर त्यस्तो हुन गएको बताउनुभयो । ‘यसबारे राम्रोसंग बुझ्न नै पाएको छैन’ चन्दले भन्नुभयो ।
नेपालगञ्जमा कोरोना फैलनुमा उपमहानगरपालिकाको स्वास्थ्य शाखा पनि जिम्मेवार देखिएको छ । परीक्षणका लागि बाँकी रहेको स्वाबबारे जानकारी नलिएर नै पोजेटिभ बाहेकलाई घर पठाउने कार्यले स्वास्थ्य शाखा गैरजिम्मेवार देखिएको हो ।
यद्दपि रिर्पोट नआउँदै घर पठाइएका ११ जनामध्ये ३ र ५ वर्षका बालबालिका भारत गइसकेका छन् । दुई जना सम्पर्कमा रहेको र ७ जनालाई मेयर तथा उममेयर, जनप्रतिनिधि र क्वारेन्टिन व्यवस्थापकको समन्वयमा शनिबार राती फिर्ता ल्याई आइशोलेशनमा पठाइएको क्वारेन्टिन व्यवस्थापक तेज बहादुर वलीले जानकारी दिनुभयो ।





