भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा

एजेन्सी । भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको छ ।

सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उहाँले भन्नुभयो, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’ ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुनुहुन्छ । त्यसलगत्तै उहाँ राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुग्नुभएको थियो । ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताउनुभएको छ ।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाउनुभएको थियो । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गर्नुभयो ।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उहाँले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोज्नुभयो ।

यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्दे समेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।

Previous articleयौनिक तथा लैंङ्गिक अल्पसंख्यक क्षेत्रमा अझै नीतिगत समस्या
Next articleहत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने मुद्दा दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here