हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने मुद्दा दर्ता

दाङ । श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ४२ वर्षीय श्रीमान उज्ज्वल चनाराविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दिनुभएको हो । मंगलबार मध्यान्ह करिब १२ बजेतिर श्रीमान उज्वलले श्रीमती मायालाई आफ्नै घरभित्रै पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेको र आफू हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उहाँको कपाल, अनुहार, हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउ खत रहेको बताउनुभयो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएकी माया बुधबार इप्रका तुलसीपुर पुगेर श्रीमानविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गराउनुभएको हो ।

प्रहरी हिरासतमा रहेका उज्जवले भने श्रीमतीको हत्या गर्न नखोजेको बताउनुभयो । घटना थाहा पाएर गोरखाबाट मायाका माइती दाङ पुगेका छन् । मायाका अनुसार ११ वर्ष पहिले आफू १५ बर्षको छँदा गिरी थरको हुँ भनेर श्रीमानले झुट बोलेर गोरखाबाट भगाएर दाङ ल्याएका थिए ।

घरमा आएपछि मात्रै आफूले उज्वलको पहिलो श्रीमतीको मृत्यु भएको र त्यसपछि सालीलाई ल्याएर राखेको कुरा थाहा पाएको मायाले बताउनुभयो । उहाँहरूको ६ बर्षीया छोरी छिन् । छोरी पनि बिरामी छन् । गत भदौमा उज्ज्वलले आत्महत्याको प्रयास गरेको र बाँकेमा १५ दिन उपचार गरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

Previous articleभारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा
Next articleसीमा नजिकैबाट दुई सय किलो बोइलर कुखुरा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here