‘रेडियो प्रेमी वान’ अर्थात श्याम गिरी चल्तीका ‘टिकटक डान्सर’

नेपालगञ्ज । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान् । कुनै जमानामा रेडियोको माध्यमबाट उहाँले प्रत्येक दिन आउने कार्यक्रममा नछुटाई फोन गर्ने गर्नु हुन्थ्यो । रेडियो कार्यक्रमबाट नै उहाँलाई बाँके जिल्ला र सेरोफेरोमा रेडियो प्रेमी श्रोताहरुले चिन्ने मौका पाए ।

विभिन्न आरोह अवरोह पार गर्दै नेपाल आयल निगमको नेपालगञ्ज डिपोमा २३ बर्षदेखि कार्यरत गिरी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित हुनुहुन्छ ।

रेडियोका नियमित कार्यक्रमहरुमा सधैं फोनमार्फत उपस्थिति देखाइरहने उहाँले आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउनुहुन्छ । हुन त गिरी कुनै न कुनै रुपमा चर्चामा आइरहनु हुन्छ ।

उहाँलाई नजिकबाट चिन्ने उहाँका बाल साखा संजय पछाईका अनुसार “अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगत देखि नै संघर्ष गर्दै आफुलाई कला र गलाको माध्यमबाट स्थापित गराउदै आउनुभएको छ”। उहाँ भन्नुहुन्छ, मोफसलमा रहेर पनी यतिको चर्चा बटुल्नु सामान्य नभएको र सबैले कला र गलाको सम्मान गरेको देख्दा खुशी लाग्छ । आफुहरु सदैव उहाँको सांगीतिक यात्रामा सहयात्री बन्ने गरेको उहाँले बताउनुभयो ।

सामान्य परिवारीक पृष्ठभुमीका सरल स्वभावका गिरीले पहिलो पटक ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएर अर्को चर्चा कमाउनुभयो । उहाँकै शब्द र रचना रहेका गीतमा गायक भद्र वलीले आवाज दिनुभएको छ । प्रेमी प्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई उक्त गीतमा “रेडियो प्रेमी वानले उतार्नुभएको छ ।”

“रेडियो प्रेमी वान” को उक्त गीतले युवाहरु माझ निकै चर्चा पायो । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दा हेर्दै दिन पनि भयो रात’, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ । यस गीतको भिडियोसमेत बजारमा आइसकेको छ ।

गिरीले अहिले अरु गीतहरु पनि रचना गरिरहनुभएको छ । पछिल्लो समयमा गीत रचनासँगै टिकटक डान्सरका रुपमा पनि उहाँ आफ्नो परिचयलाई फराकिलो बनाउँदै लग्नुभएको छ । ‘प्रेमी वान रेडियो’ टिकटक ह्यान्डलमा उहाँले दजनौं गीतहरुमा नृत्य प्रस्तुत गरेर अहिले देशविदेशमा चर्चा बटुलिरहनु भएको छ ।

उहाँको कपाल, शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका नृत्य प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । ‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभर हजुरको अभिनयको जादु फैलिएको छ, शुभकामना,’ रितिका खनाल नामकी टिकटक प्रयोगकर्ताले गिरीको नृत्यको प्रशंसा गर्दै कमेन्टमा भन्नुभएको छ ।

टिकटक डान्सर गिरीले देश विदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्नै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई धेरैले मन पराउनुभएको छ । यसका लागि म सबैलाई धन्यवादन दिन चाहन्छु । मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पनि पाएको छु । यसमा गर्व लागेको छ ।’

उहाँको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार बढीले लाइक गरिसकेका छन् । नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायिका मन्जु पौडल लगायत कलाकारलाई भेटिसक्नुभएका उहाँले टिकटक स्टार अंशु बर्मासँग पनि टिकटक बनाएर चर्चा कमाउनुभएको छ ।

उहाँले टिकटकमा र फेसबुकमा बनाएको विभिन्न भिडियोमा हजारौ भ्युज र लाइक प्राप्त भएको देखिन्छ । आफ्नो जागिरे जीवनमा समेत सधै आफ्नो कर्तव्य र दायित्व कुशल तरिकाले निभाउने गरेको आयल निगम नेपालगंजका सहायक प्रवन्धक राजेश पाण्डेले बताउनुभयो ।

पाण्डेका अनुसार उहाँले आफ्नो सांगीतिक कार्यका साथै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने गरेको बताउनुभयो । “रेडियो प्रेमी वान” लाई सांगीतिक जीवनको थप सफलताको लागि आफुहरुले कार्यालयबाट थप उत्प्रेरित गर्ने गरेको उहाँले बताउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments