
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ ।
उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गर्नुभयो । शुक्रबार गृह जिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।
‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौं । तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौं र जित्छौं पनि ।’
झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवार हुनुहुन्छ । रासस






