बाँके । विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) सबैभन्दा बढी प्रभावित बन्यो नरैनापुर । कोरोना भाइरसले नरैनापुरलाई ‘हट स्पट’ बनाउँदै गर्दा नागरिक ठूलो समस्यामा परे ।
त्यतिबेला एकअर्काको घरमा जानै समस्या । त्यतिबेला नरैनापुरवासीलाई अभिभावकको खाँचो थियो । तर, त्यस्तो महामारीमा घरबाट बाहिर निस्कियोस्, को । आफ्नो ज्यानलाई जोखिममा राखेर घर बाहिर निस्किन कोही मानेनन् ।
तर यहाँकी सांसद कृष्णा केसी (नमुना)ले त्यो सहास र हिम्मत गर्नुभयो र जनताको ज्यान जोगाउन घर बाहिर निस्किनभयो । यतिबेला मात्र होइन, राप्तीपारि बर्सेनी समस्या भनेको डुबानको हो । बर्खाको समयमा यहाँका बासिन्दाले बर्सेनि यो समस्या झेल्दै आएका छन् । यतिबेला पनि नागरिकको उद्दार, उनलाई राहत तथा व्यवस्थापनमा नमुनाले अभिभावकीय भूमिका निर्वाह गर्दै आउनुभयो ।
यति मात्र होइन, गाउँमा सामान्य समस्या भएपनि नमुनाको खोजी हुन्छ । उहाँको खोजीको एउटै कारण हो, ‘सिर्जित समस्यालाई उहाँले समाधान गर्नुहुन्छ ।’ जसले गर्दा पनि यहाँका नागरिकले दलगत रुपमा भन्दा यहाँको साझा जनप्रतिनिधिका रुप उहाँलाई समस्या सुनाउँछन् ।
‘कोरोना भाइरसमात्र होइन, बर्सेनी आउने बाढीले डुबान गरेको प्रभावित क्षेत्रमा नमुना आफैँ बस्ती बस्ती, घरघर पुग्नु हुन्छ,’ यहाँका नेत्र थारुले भन्नुभयो, ‘हामीलाई हामीले जिताएको जनप्रतिनिधि आउँदा ठूलो हौसला मिल्छ ।’ विपद्का बेला जनप्रतिनिधि जनताकै साथमा हुँदा पनि केही पीडा कम सहसुस हुने उहाँले बताउनुभयो ।गत वर्ष घर डुबानमा परेर सबै खाद्यान्न तथा लत्ताकपडा बगाएर पीडित बनेका विकास चौधरी राहतको प्रतीक्षामा हुनुहुन्थ्यो । नमुनाले उहाँलाई व्यक्तिगतरुपमा खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइदिनुभयो ।
‘घरमा भएका सबै सामान बगेर, भिजेर म हैरानमा परेको थिएँ,’ उहाँले भन्नुभयो, ‘सांसदज्यू आउनु भयो र न्याय मिल्यो ।’ उहाँ मात्र होइन यस्ता कयौंलाई नमुनाले सहयोग पुर्याउनुभएको छ । उहाँ घरमा प्रायः भेटिनुहुन्न । जनताकै घरदैलोमा पुग्नुहुन्छ । जनतासँग साक्षात्कार गर्नुहुन्छ र यहाँको विकासका लागि सोच निर्माण गर्नुहुन्छ ।
राप्तीपारि जहाँ, सडक थिएन, गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट नागरिक वञ्चित थिए । यहाँकी जनप्रतिनिधि नमुनाको आँखा चाहिँ त्यही सडक, शिक्षा र स्वास्थ्यमा पर्यो । जहाँ समस्या, त्यहाँ समाधान भनेझैं तिनको व्यवस्थापनका लागि उहाँले पहल थाल्नुभयो ।‘हालसम्म राप्तीपारिका सबै क्षेत्रमा सडक पुगेको छ,’ प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहनुभएकी नमुनाले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य विकास भएको छ ।’ यो यस क्षेत्रका उपलब्धि भएको उहाँको भनाइ छ ।
‘सबैको सहयोगका कारण कामले गति लिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘काम अझै गर्न बाँकी छ । तर, सीमित स्रोत साधनबाट यहाँ धेरै काम भएका छन् ।’ जहाँ केही छैन । त्यहाँ धेरै हुन्छ भने झै नमुनाले राप्तीपारिलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो ।
सामान्य घरायसी विवाद समाधानदेखि योजना निर्माणसम्म नमुनाले भूमिका निर्वाह गर्नुभएको छ । यस क्षेत्रको समस्या समाधानको सारथि हुनुहुन्छ नमुना । इच्छाशक्ति, धैर्यता र इमानदार भएर काम गर्ने हो भने जनतालाई विश्वास दिलाउन सकिने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।