
नरैनापुर । ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ । मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा बेसकि केन्द्रीय सदस्य संगिता थारुले बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको जानकारी दिनुभयो । यस्तै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गर्नुभयो । अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउँदै आर्दश माध्यमिक विद्यालयलाई इण्टर कलेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ठेक्का भई सकेकोले निकट भविष्यमा संचालनमा आउने जानकारी दिनुभयो ।
गाँउपालिका अध्यक्ष शाहले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम, दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउदै उहाँले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने जिकिर गर्नु भएको थियो ।
नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको आर्थिक सहयोगमा शैक्षिक सामाग्री बितरण गर्नुले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गर्नु भएको थियो ।
कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामाग्रीसहित ५४० जना विद्यार्थीहलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बेसकी केन्द्रीय सदस्य चौधरी, नरैनापुर वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा समितिका सदस्य एंव अध्यक्षका स्वकिय सचिव ब्रिजेन्द्र यादव, नरहरिनाथ योगी, बिद्यालयका प्रअ त्रिलोकीनाथ मौर्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमलाई शिक्षक अरुण यादवले संचालन गर्नुभएको थियो ।





