
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकाल्नुभएको छ ।
‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ । पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् ।
छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ ।





