
नेपालगञ्ज । बाँकेको दुर्गम क्षेत्रका रुपमा परिचित नरैनापुर गाउँपालिकामा पनि दादुराको संक्रमण फैलिएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकापछि नरैनापुर गाउँपालिकामा सबैभन्दा धेरै दादुराका संक्रमित देखिएका छन् ।
हालसम्म नेपालगञ्जमा १८९ जनामा संक्रमण देखिएको छ । मंगलबार साँझ पाँच बजेसम्मको तथ्याँक अनुसार नेपालगञ्जको वडा नं ५ र १२ मा एक एक जना गरी १८९ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार नरैनापुरका २ जनामा देखिएको संक्रमण मंगलबार बढेर संक्रमितको संख्या १३ पुगेको छ । नरैनापुरको वडा नं २ मा मंगलबार १२ जनामा संक्रमण देखिएको हो । यससंगै खजुरा गाउँपालिमा ३, कोहलपुरमा २ गरी जिल्लाका २०९ जनामा संक्रमण देखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
यस्तै जिल्लामा हालसम्म संक्रमित भएकामध्ये १५० जना निको भएका छन् । ५८ जना घरमा आइसोलेशनमा बसेका छन् । यसै क्रममा दादुरा रुवेलाबिरुद्ध शुरु गरिएको खोप अभियान पनि लक्ष्य नजिक पुग्दै गएको छ ।
खोप अभियानमार्फत नेपालगञ्जका ३१ हजार ४२ जनालाई खोप दिइएको छ । मंगलबारमात्रै नेपालगञ्जका ९ सय ३२ जनालाई खोप दिइएको नेपालगञ्जका खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।
बाँकेको खजुरामा ५ हजार ९ सय ७४ जनालाई खोपको मात्रा प्रदान गरिएको छ । खोप फोकल पर्सन श्रेष्ठका अनुसार लक्षित समूहमध्ये नेपालगञ्जका ११ हजार ९ सय ६८ जना र खजुराका १२ हजार ४ सय ८५ जनालाई खोप लगाउन बाँकी रहेको छ । उनीहरुलाई लक्षित गरेर बुधबारदेखि खोप अभियान संचालन हुँदैछ ।
यस्तै दादुरा संक्रमणको महामारीलाई नियन्त्रण गर्न आवश्यक रहेको खोपको अभाव हुन नदिन निरन्तर खोप आपूृर्ति भइरहेको छ । मगलबार मात्रै प्रदेश स्वास्थ्य आपूृर्ति केन्द्रबाट २४ हजार डोप खोप प्राप्त भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा आपूर्ति भएको ७० हजार ५ सय डोज खोपमध्ये ३३ हजार ३ सय डोज खोप मौज्दात रहेको जनाइएको छ ।






