
एजेन्सी । न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० आन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ । जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो । उसका लागि तल्लोक्रमका ब्याटर वासिन्टन सुन्दरले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाउनुभयाे । सूर्यकुमार यादवले ३४ बलमा ६ चौका र २ छक्कासहित ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
माथिल्लो क्रमका तीन ब्याटर शुभमन गिल ७ र इशान किसन ४ रनमा पभेलियन फर्किंदा राहुल त्रिपाठी डक आउट हुनुभयाे । कप्तान हार्दिक पान्ड्या २१, दीपक हुडा १०, शिवम माभी २ र कुलदीप यादव शून्यमा आउट हुनुभयो ।
न्युजिल्यान्डका माइकल ब्रेसवेल र मिचेल सान्टनार २ विकेट लिनुभयाे । लोकी फर्गुसन, जकोब डफी र ईश सोधीले एक एक विकेट हात पार्नुभयाे ।
त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।
उसका लागि डेभोन कनवे र डरेल मिचेलले अर्धशतकीय पारी खेल्नुभयाे । मध्यक्रमका ब्याटर डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित ५९ रनको अविजित इनिङ खेल्दा कनवेले ३५ बलमा ५२ रन बनाउनुभयाे ।
ओपनर फिन एलेन ३५ रनमा आउट हुनुभएको थियाे । मार्क च्यापमनले खाता खोल्न सक्नुभएन । ग्लेन फिलिप्स १७ रनमा मैदान बाहिरिनुभयाे ।
भारतका लागि वासिङटन सुन्दरले दुई विकेट लिनुभयाे । कुलदिप यादव, शिभम माभी र अर्शदिपले एक- एक विकेट बाँड्नुभयाे । यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरूद्ध टी-२० जित्दै पुनरागमनको प्रयासमा छ । दोस्रो खेल भोलि लखनउमा हुनेछ । 





