नेपालगञ्ज महोत्सवमा चर्चित गायक परियार र तारामी मगरको प्रस्तुति

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायक शिव परियार र लोक गायिका जानकी तारामी मगरको प्रस्तुति रह्यो ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार गायक शिव परियार, गायिका जानकी तारामी र उद्धोषक सञ्जय देवकोटाले दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको हो ।

बजारमा आइसकेका आफ्ना बिभिन्न एलबमहरुको विश्लेषण गर्दै गायक परियारले नेपालगञ्ज महोत्सवमा दर्शकमाझ व्यापक चर्चा कमाएका लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभयो । सर्लाहीमा जन्मिनुभएका गायक परियार शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेर आफुलाई नेपालको टपमा स्थापित गर्न सफल हुनुभएको छ ।

नेपालगञ्जवासी माझ गायक परियारले आफ्ना बिभिन्न लोकप्रिय गीतहरु मध्ये पिउदिन भन्दा भन्दै पिलायो साथी, आशुको अर्थ लगायतका गीत प्रस्तुत गर्दै मनोरञ्जन गराउनुभयो । उहाँले आफ्नो विदेशको यात्रा क्रममा बटुलेको मिठो अनुभव पनि सुनाउनुभयो । नेपालको गीत संगीत क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभएका गायक परियारले नेपालगञ्ज महोत्सवको मञ्च पाउँदा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद समेत दिनुभयो ।

यस्तै, गायिका जानकी तारामीको एक हप्ता अगाडि आएको नयाँ भेनाको जातैले बोलको गीत पहिलो पटक नेपालगञ्जमा प्रस्तुत गर्नुभयो । उहाँले आफ्ना बिभिन्न लोक गीतहरु प्रस्तुत गर्दै दर्शकलाई नचाउनुभयो । उहाँले टिकटकमा भाइरल गीतहरु समेत प्रस्तुत गर्नुभयो ।

उहाँले आफ्नो विद्यार्थी जिवनको साथीसंग पनि नेपालगञ्जमा आजै आएर भटेको पनि बताउनुभयो । उहाँ कोहलपुर र खजुरामा यसअघि आएको भएपनि महोत्सवमा नेपालगञ्ज पहिलो पटक आएको जानकारी दिनुभयो । महोत्सवका प्रचारप्रसार समिति संयोजक भागवत कंडेलका अनुसार बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरीको प्रस्तुति रहने भएको छ ।

स्थानीय गायक अशोक रावलको समेत प्रस्तुति रहनेछ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्नुहुनेछ । यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानीय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशस्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ ।

यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसरभित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिन सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा।लि।ले व्यवस्थापन गरिरहेको छ ।

Previous articleनेपाल टी-२० मा फिक्सिङको आरोपमा एक जना पक्राउ
Next articleहवाई सेवा सुरक्षित बनाउन लिखित जवाफ माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here