नेपाल रनिङको विमोचन, नेपालगन्जका ठकुरी ´वर्ल्ड कंग्रेस`मा भाग लिन जापान प्रस्थान

काठमाडौं । नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ मंगलबार विमोचन गरिएको छ । नेपाल सरकार र तत्कालिन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा शान्ति, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज म्याराथनले यो वर्ष आठौं संस्करण पूरा गरिसकेको छ ।

म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट रुट प्रमाणित भई नेपालगन्ज म्याराथनले सदस्यता प्राप्त गरेको थियो । त्यस्तै नेपालगन्ज म्याराथन एम्सको क्यालेन्डरमा समेत समावेश भइसकेको छ । 

यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वल्र्ड कंग्रेसलाई लक्षित गर्दै तयार पारिएको प्रकाशन नेपाल रनिङको विमोचन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, शसस्त्र प्रहरीका पूर्व महानिरक्षक शैलेन्द्र श्रेष्ठ, ओलम्पियन रघुराज वन्त, नेपाल पयर्टन बोर्डका पूर्व सिइओ दीपकराज जोशी र राखेप सदस्य अन्जुनाथ धमलाले राखेपमा आयोजित कार्यक्रममा संयुक्तरुपमा नेपाल रनिङको विमोचन गर्नुभएकाे थियाे ।

नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ । नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, शहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा चर्चा गरिएको छ । प्रकाशनमा केहि अंश नेपाली र केहि अंश अंग्रेजीमा रहेका छन् । 

अधिकांश अतिथिले नेपालगन्ज म्याराथन एम्सबाट मान्यता प्राप्त गर्नु उपलब्धी भएको चर्चा गर्दै राखेपले त्यसको अभिभाकत्व लिनुपर्नेमा जोड दिए । राखेप सदस्य सचिव घिसिङले भविष्यमा राखेपले नेपालगन्ज म्याराथनमा सक्दो सहयोग गर्ने वचन दिनुभयाे ।

सोही अवसरमा वल्र्ड कंग्रेसमा भाग लिन मंगलबार जापान जान लाग्नुभएका नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलाई राखेप सदस्य सचिव घिसिङलगायतले विदाई गर्नुभयाे । वल्र्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने बताइएको छ । 

मंसिर २४ गते आयोजना भएर पहिलो पटक इलोक्ट्रोनिक चिप्स प्रयोग गरिएको आठौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्गबहादुर खड्काले जित्नुभएकाे थियाे । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जित्नुभएकाे थियाे ।

Previous articleनेपालगन्जबाट पाँच लाख बढीकाे लत्ताकपडा तथा माछा बरामद
Next articleदेशभक्त छोरा भनाउदा कुर्चीका लागि मरिरहेछन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here