
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा आइतबार रक्तदान गरिएको छ । रगतको अभावमा रहेका बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध होस भन्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को सहयोगमा रेडक्रस भवनमा भएको रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर २२ का अध्यक्ष अब्दुल गफ्फार हलवाईले वडा कार्यालयले बिरामीका लागि अत्यावश्यक पर्ने रगतको अभाव पूर्ती होस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रममा सहयोग गरेको बताउनुभयो । वडा कार्यालयले रक्तदान जस्तो पबित्र कार्यमा सहयोग गर्न पाउदा खुसी लागेको बताउँदै रक्तदान कार्यक्रममा सहकार्य गर्ने सबै संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
यसैगरी उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासँघका केन्द्रीय सदस्य नमस्कार शाहले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्न सहयोग गर्ने नेपालगन्ज २२ नम्बर वडा रहेको भन्दै वडाले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
नेपालगन्जका सबै वडाहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने हो भने नेपालगन्जमा रगतको अभाव नहुने भन्दै सरोकारवालाहरुलाई यसतर्फ ध्यान दिन उहाँले अपिल गर्नुभयो । उहाँले रक्तदान कार्यक्रम पहिलो प्राथमिकतामा पर्नुपर्नेमा त्यस्तो नभएकाले रेडक्रस सोसाइटी, स्थानीय सरकार लगायत संघसंस्थाहरुले समेत रक्तदान जस्तो मानवीय कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्न अपिल गनुृभयो ।
गैरसरकारी संस्थाहरुले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको भन्दै उहाँले आगामी दिनमा समेत गैससले गर्ने भूमिकामा सधै तयार रहने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का सचिव भोबिन्द्र कडेंलले नेपाल रेडक्रस सोसायटी पुरैनी उपशाखाले वडा कार्यालयको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने र सहकार्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले रक्तदान कार्यक्रमको बारेमा थप प्रचार प्रसार आवश्यक रहेको भन्दै सबै सरोकारवालाहरुले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी पुरैनी शाखाका अध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको उद्घाटन कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष हलवाइ, वडा सचिव कडेंल, गैसस महासँघका केन्द्रीय सदस्य शाह, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष बर्मा, नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका अध्यक्ष मन भण्डारी, सन नेपाल लाईफ इन्सोरेन्स नेपालगन्जका प्रबन्धक कमल शाही, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजना, वडा नम्बर २२ को सहयोग तथा गैर सरकारी संस्था महासँघ बाँके, बास नेपाल, जिल्ला युवा क्लब सञ्जाल बाँके, नाईस नेपालगन्ज, युवा घर, साना किसान कृषि सहकारी संस्था लि.पुरैनी, कोपिला महिला कृषि सहकारी संस्था लि.पुरैनी, जनमत अर्ध शाप्ताहिक, सन्त निरंकार मण्डल बाँके, दिदिबहिनी समाज बाँके र गौरब स्मृती तथा बि.योर सेल्फ फाउण्डेसन नेपालगन्जको सहकार्यमा भएको थियो ।
कार्यक्रममा गैसस महासँघ नेपालका केन्द्रीय सदस्य शाह, नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका उपसचिव मिरा अधिकारी, बासका लेखा अधिकृत तथा नाईस नेपालगन्जका कोषाध्यक्ष राष्टि बुढा मगर, सदस्य सुमन पनेरु, रमिता शाह, नेपालगन्ज १३ का युवा ध्रुव चौहान, नेपालगन्ज १९ का वडा सदस्य सोहन बर्मा, नेपालगन्ज २२ का मनिष बर्मा लगायत ३५ जनाले रक्तदान गर्नुभएको थियो ।





