
नेपालगञ्ज । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्जमा ११ जनालाई सम्मानित गरिएको छ ।
दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत समाजमा उदाहरणीय तथा प्रेरणादायी कार्यमा सक्रिय एक संस्था र १० व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।
नेपालगञ्जस्थित रामलीला मैदानमा भएको कार्यक्रममा प्रेरणादायी कार्यमा सक्रिय ९ जना अटो तथा इरिक्सा महिला चालक र एक जना महिला उद्यमीलाई सम्मान गरिएको छ । यस्तै नेपालगञ्जमा रहेका पुर्नस्थापना गृहमध्ये उत्कृष्ठ पाइएको माइती नेपाललाई सम्मानित गरिएको छ ।
उहाँहरुलाई नेपालगञ्जका मेयर प्रशान्त बिष्टले दोसल्ला तथा प्रमाणपत्र दिएर सम्मान प्रदान गर्नुभएको थियो । सो क्रममा बोल्दै मेयर बिष्टले महिला शशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले अझै पनि महिलाहरु जागरुक बन्नुपर्ने अवस्था रहेकाले अघि बढ्न महिलालाई आग्रह गर्नुभयो ।
नगरपालिकास्तरीय लैंगिक हिंसा निगरानी संजाल, नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयको आयोजना तथा यहाँ रहेका बिभिन्न संघसंस्थाहरुको समन्वयमा दिवसको अवसरमा नेपालगञ्जमा मोटरसाईकल र्याली समेत निकालिएको थियो ।
नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट शुरु भएको र्याली ट्राफिक चोक, गणेशमान चोक, बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक हुँदै रामलीला मैदानमा पुगेर कोण सभामा परिणत भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले जानकारी दिनुभयो ।
सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहको अध्यक्षतामा भएको कोण सभामा सम्मानित व्यक्ति, संस्थाका प्रतिनिधिहरुले महिलाको अवस्था तथा अधिकारका बिषयमा बोलेका थिए ।
नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरिएको थियो ।
महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरे पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी छ ।
नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । तर, अझै पनि महिलालाई नेतृत्व र जिम्मेवारी दिन आनाकानी हुने गरेको छ । पछिल्लो समय महिलाहरु आत्मनिर्भर र स्वाबलम्बि बन्दै गएका छन् ।
घर भित्र र बाहिरको कामको जिम्मेवारीले महिलामाथि भार भने बढ्दै गएको छ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।









