सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ

काठमाण्डौं । तिब्बती नागरिक लगायतलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरनागरिकलाई नागरिकता दिलाएको आरोपमा पाँच जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी मनोज कुमार केसीका अनुसार काठमाडौंको बबरमहल क्षेत्रमा केही व्यक्तिहरूले नक्कली कागजात बनाएर सक्कली नागरिकता समेत निकालिदिने भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

जसअनुसार प्रहरीले ‘फेक चार्ली’ अपरेशन चलाएको थियो । व्यक्तिहरूको पहिचानको लागि प्रहरी आफैं पनि ग्राहक बनेर गएको थियो । ‘सूचना आएपछि हामीले ग्राहक बनाएर प्रहरीलाई पठायौं । त्यसपछि यी व्यक्तिहरूको पहिचान खुल्दै गए,’ एसएसपी केसीले भन्नुभयो ।

उहाँका अनुसार यी व्यक्तिहरूका गतिविधि विशेषगरी काठमाडौं जिल्ला प्रशासन कार्यालय केन्द्रीत छन् । जसका मुख्य ‘नाइके’ कृष्णबहादुर कटुवाल हुन् । उनले नै नक्कली कागजात, नक्कली बुवा समेत खडा गरेर नागरिकता बनाएको खुलेको हो ।

उनले १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्दै आएका थिए । हिरालाल शिवाकोटी भने उनका सहयोगी हुन् । उनीहरूले काठमाडौंको बौद्ध क्षेत्रमा केही सम्पर्क व्यक्तिहरू पनि खटाएका थिए । जसले ककसलाई नागरिकता चाहिन्छ भन्ने कुरा बुझ्थे ।

त्यही अनुसार नागरिकता चाहिने व्यक्तिहरूको पहिचान गरी प्रक्रिया अघि बढाउँथे । ‘बौद्ध क्षेत्रमा तिब्बती शरणार्थी छन् । त्यहाँ सम्पर्क व्यक्ति राखेर ग्राहक खोज्थे,’ एसपी सोमेन्द्रसिंह राठौरले भन्नुभयो, ‘तिब्बतीहरूले पनि नेपाली नागरिकता क्यानडा, अमेरिका लगायत देश जानको लागि प्रयोग गरेको पायौं ।’

नागरिकता बनाइदिन उनीहरूले ३ देखि ५ लाखसम्म रुपैयाँ लिने गर्थे । कटुवाल ठगी तथा कीर्ते मुद्दामा यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन् । त्यस मुद्दामा सजाय भुक्तान गरेर पुनः आपराधिक गतिविधिमै लागेका हुन् । न्युल्केश श्रेष्ठ भने कटुवालले खटएका भाडाका बुवा हुन् ।

उनी कम्तीमा पनि १० जनाको बुवा बनिसकेको अनुसन्धानबाट खुलेको छ । भाडाको बुवा बनेबापत उनले १० हजार रुपैयाँ पाउँथे । उनका पनि दुई वटा नागरिकता छन् । जसको प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता निकालिएको खुलेको हो ।

उनी बुवा बनेको चार जनाको नागरिकता पनि प्रहरीले बरामद गरेको छ । सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउनमा न्युल्केशले बुबाको भूमिका खेलेको देखिएको हो ।

यसरी ५/६ वर्षको अवधिमा कृष्णबहादुरले झन्डै ५०० जना गैरनागरिकको नागरिकता निकालिएको खुलेको छ । उनीहरू कोको हुन् भन्नेबारे अनुसन्धान जारी नै रहेको एसएसपी केसीले बताउनुभयो ।

‘यसमा बाहिरी व्यक्‍तिहरूमात्रै नभएर भित्री कर्मचारीहरूको पनि संलग्नता देखिन्छ । पूर्वकर्मचारी देखि अहिले बहालवाला कर्मचारीको संलग्नता भएको अहिलेसम्म अनुसन्धानबाट खुलेको हो,’ उहाँले भन्नुभयो, ‘त्यसै शिलशिलामा एक जना क्यान्टिन सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।’

विजय लामाले प्रशासन कार्यालयमा ९ वर्षदेखि क्यान्टिन सञ्चालन गर्दै आएका थिए । बाहिरी सेटिङ कृष्‍णले मिलाउने गर्थे भने भित्री सेटिङ विजयले गर्थे । कर्मचारीहरूलाई पनि दिनुपर्ने भन्दै विजयले प्रति नागरिकता साढे १ लाख रुपैयाँसम्म लिन्थे ।

यसरी नागरिकता दिनेमा प्रशासकीय अधिकृतसम्मको संलग्नता रहेको कार्यालयले जनाएको छ । यद्यपि ती कर्मचारीहरू कोको हुन् ? भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी केसीले बताउनुभयो ।

कर्मचारीहरूविरूद्ध प्रमाण जुटाएर पक्राउ गरिने उहाँले बताउनुभयो । लोब्साङ ठिन्ले भन्ने व्यक्ति भने तिब्बती नागरिक हुन् । उनले २०७२ फागुन ३० गते काठमाडौंबाट ठिन्ले गुरूङको नामबाट नागरिकता निकालेका हुन् ।

जसको ठेगाना पनि काठमाडौं महानगरपालिका १७ राखेको देखिन्छ । प्रहरीले उनीहरूबाट साढे ३ लाख नगद पनि बरामद गरेको छ । सेतोपाटीबाट साभार

Previous article६२ करोड बढीको सट्टेबाजी आरोपमा ६ जना पक्राउ
Next articleप्रधानमन्त्री प्रचण्डको निर्देशन : बजार अनुगमन गर्नुस्, राजस्व छलि रोक्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here