
नेपालगन्ज । अग्निजन्य हिंसा तथा दुर्घटनाका सम्बन्धमा नेपालगन्जमा सचेतिकरण बैठक भएको छ । वि.भि.एस. नेपालको आयोजनामा नेपालगन्ज उमपहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहभागितामा उक्त सचेतिकरण बैठक भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा भएको बैठकमा अग्निजन्य हिंसा तथा दूर्घटना, उपचार तथा पूर्नस्थापना, जनचेतना, रोकथाम र पैरवीका लगायतका बिषयमा वि.भि.एस. नेपालका कार्यक्रम प्रबन्धक श्रीकृष्ण थापाले प्रस्तुतीकरण गर्नुभएको थियो । अग्निजन्य घट्ना दूर्घटना, आत्मदाह र हिंसाका कारण हुने भएकाले सचेतीकरण आवश्यक रहेको उहाँले बताउनुभयो ।
बैठकको क्रममा अग्निजन्य घट्नाहरु सरकारको प्रथामिकतामा नपर्नु, कानुनहरु प्रयाप्त नहुन साथै कार्यान्वयनमा कमजोरी, सिमित श्रोत अत्याधिक माग, दक्ष जनशक्ति, पुर्वाधार र गुरस्तरीय प्रविधिको अभाव, जनचेतनामा कमि, हेलचक्र्याई, पुनस्र्थापना तथा आर्थिक सशक्तिकरण, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिमा सहयोग नहुनु लगायत चुनौतीको रुपमा रहेको सहभागिहरुले औल्याएका थिए ।
बैठकको अन्त्यमा बोल्दै नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले अग्नीजन्य घट्ना न्यूनीकरणका लागि स्थानीय सरकारले योजनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बिश्वभरी बार्षिक अग्निजन्य दुर्घटनाबाट मृत्यु हुनेको सख्या १ लाख ८० हजार रहेको छ भने भारतमा मात्रै बार्षिक अग्नि जन्य दुर्घटनामा घाईतेको संख्या १० लाख हुने गरेको छ ।
यसैगरी डिओएचएसको बार्षिक प्रतिबेदन २०७६/०७७ अनुसार नेपालमा बार्षिक अग्नि जन्य दुर्घटनामा घाईतेको सख्या ७६ हजार ७ सय ८० रहेको छ ।
सन् २००८ देखि यस क्षेत्रमा कार्य गर्दै आएको वि.भि.एस. नेपालले दुर्घटना तथा हिंसामा परेका ९ हजार ५ सय ६३ बढी बिरामीको लागि औषधि उपचारमा सहयोग गरेको छ । यसैगरी १४९ आत्महत्या प्रयास, ९६ अग्निजन्य लैंगिक हिंसा र ३७ तेजाव आक्रमणमा परेका ब्यक्रिहरुलाई सहयोग गरेको छ ।
संस्थाले अग्निजन्य घटना तथा अग्निहिंसाका पीडितहरूलाई सहयोग, औषधि, उपचार, पोषण, फिजियोथेरापी, मनोसामाजिक परामर्शमा, जनचेतना, शिक्षा तथा बहस–पैरवी, व्यावसायिक तालिम प्रदान गरि पिडितको पुर्नस्थापना, अस्पतालहरुलाई आवश्यक सामग्रीहरु सहयोग गर्दै आएको छ ।





