
बेलभार । बाँकेको जानकी गाउँपालिका वडा नं-२ को स्वास्थ्य चौकी बेलभारमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् ।
वडा नं-२ को वडा कार्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बेलभार स्वास्थ्य चौकी, त्यहाँ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई खादा लगाएर सम्मान पत्रले सम्मानित गरेको हो ।
स्वास्थ्यकर्मीहरुलाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
बेलभार स्वास्थ्य चौकीलाई गाउँपालिकामै उत्कृष्ठ बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य चौकीका प्रमुख गोबिन्द गौतम, स्वास्थ्यकर्मी विवेक कुमार बर्मा, बम बहादुर शाही, शर्मिला पौडेल र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थितलाई वडा सचिव कविता रेग्मीले स्वागत गर्नुभएको थियो ।
वडाको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनिय रहेको र उहाँहरुको मेहनतको सम्मान गर्नुपर्ने कर्तब्यलाई पालन गर्दै उहाँहरुलाई सम्मान प्रदान गरिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकामै बेलभार स्वास्थ्य चौकी उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सेवाका सूचकहरुको मापनमा बेलभार स्वास्थ्य चौकी पालिकामै एक नम्बरमा पर्न सफल भएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताउनुभयो ।





