
एजेन्सी । श्रीलङ्कामा सयभन्दा धेरै प्रकारका औषधीको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधीको अभाव भएको हो ।
बिहीबार संसदमा स्वास्थ्यमन्त्री केहेलिया राम बुकवेलाले देशमा औषधी अभाव भएको कुरा उठाएर जानकारी गराउनुभएको छ ।
सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधी प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधीको अभाव रहेको मन्त्री राम बुकवेलाको भनाइ छ ।
श्रीलङ्का सरकारले औषधी आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थपेको र औषधी खरिदपछि अभाव छिट्टै हट्ने स्वास्थ्यमन्त्रीको दाबी छ ।
श्रीलङ्काले आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै औषधीसहित अत्यावश्यक वस्तु तथा सेवाको समस्या झेल्दै आएको छ ।





