उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचिमा ‘अँध्यारो बस्तीकी नायिका’

नेपालगन्ज । ‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’ का लागि अन्तिम सूचीमा दिला शाहको कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’ पर्न सफल भएको छ ।

पहिलो पुस्तकको रूपमा आख्यान अर्थात् उपन्यास लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला टेक्नुभएका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरु गरिएको ‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचीमा नेपालगन्ज निवासी शाहको ‘अँध्यारो बस्तीकी नायिका’ पर्न सफल भएको हो ।

पुरस्कारको अन्तिम सूचीमा शाहको ‘अँध्यारो बस्तीकी नायिका’सँगै विक्रम भक्त जोशीको निकथा संग्रह ‘चोभार ब्लुज’ र हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपैयाँ राशीको ‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’ प्रदान गरिने ‘साहित्य पोष्टले जनाएको छ ।

सल्यानमा जन्मेर नेपालगन्जलाई कर्मथलो बनाउनु भएकी चर्चित समाजसेवी लेखिका शाह विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुुन्छ । युवा उद्योगपति, रक्त अभियन्ता, नियमित रक्तदाता रहनुका साथै शाह नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष हुनुहुुन्छ भने नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज उपमहानगरपालिका समितिकी अध्यक्ष हुनुहुुन्छ । उहाँ भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपाल लगायत अन्य विभिन्न संस्थाहरुमा क्रियाशील हुनुहुुन्छ ।

‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’ का लागि अन्तिम सूचीमा परेको समाचार शनिवार सार्वजनिक भएपछि टेलिफोनमा प्रतिक्रिया लिंदा आख्यानकार शाहले आफ्नो पहिलो कृति २०७९ सालमा प्रकाशित नेपालभरकै कृतिहरुको ठुलो चाङमा साहित्य पोष्ट जस्तो प्रसिद्ध अनलाइन साहित्यिक म्यागाजीनको ‘उत्तम आख्यान पुरस्कार’ मा छनौट हुनु नै म जस्तो मोफसलमा बसेर कलम चलाउने मेरो लागि ठुलो पुरस्कार हो ।

अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एउटा कृतिलाई ५० हजार रुपियाँ राशीको ‘साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार–२०७९ मा परिएला नपरिएला, तर मेरो लागि त्यो धनराशीको पुरस्कार भन्दा ठुलो पुरस्कार पाएको अनुभूति भएको छ भन्दै यो अन्तिम छनौटको घोषणाबाट लेखिका शाहले साहित्यको क्षेत्रमा मलाई अरु बढी कलम चलाउने उत्प्रेरणा जगाएको बताउनु भयो ।’

‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’ का लागि २०७९ सालभरि प्रकाशित ४४ आख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४४ आख्यान विधाका कृतिहरूबाट १२ कृतिको ‘लामो सूची’ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यान कृतिको “छोटो सूची” सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ कृति मध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’को विजेताको घोषणा र वितरण सार्वजनिक समारोह आयोजना गरेर प्रदान गरिने साहित्य पोष्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाले जनाउनु भएको छ । उहाँले भन्नुभयो-‘अन्तिम सूचीमा परेका तीन आख्यान विधाका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ दर्बिलो गरी उभिएका छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिवद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

कोइरालाका अनुसार गुरूपूर्णिमाको अवसर पारेर यही असार १८ गते साहित्य पोष्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरण समेत गरिनेछ ।

‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जल समाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

Previous articleयही असार १५ गते रोपाई महोत्सवको तेस्रो संस्करण
Next article‘रअ’ का नयाँ प्रमुख रवि सिन्हा को हुन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here