
बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा सामाजिक तथा धार्मिक अगुवा (बडघर) हरुका निम्ति यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि दुई दिने तालिम संचालन गरिएको छ ।
समुदायमा हुने नकारात्क अभ्यासलाई न्युनिकरणमा सामाजिक तथा धार्मिक अगुवाहरुको महत्वपूर्ण उपस्थिति रहने भएकाले उहाँहरुलाई लक्षित गरि दुई दिने तालिम संचालन गरिएको हो ।
समाजका अगुवाहरुलाई यसबारे पुर्ण जानकारी भए बाल विवाह लगायत हानिकारक अभ्यासलाई कम गर्न सकिने बिश्वास गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा राम्रो जानकारी भएमा समुदायमा स्थानीय अभिभावकहरुलाई सहजिकरण गर्न यो तालिमले मद्दत पुग्नेछ । तालिममा बारबर्दिया १८ जना बडघर र धार्मिक अगुवाहरुको सहभगिता रहेको छ ।
सन २०३० भित्र नेपाललाई बाल बिवाह मुक्त देश घोषणा गर्ने अभियानलाई सहयोग पुर्याउन संचालन गरिएको परियोजना बर्दियाको ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकामा संचालन भएको छ । बाल बिवाह न्युनिकरणका लागि स्थानीय सरकारसंगको समन्वयमा सो परियोजना संचालन गरिएको हो ।
भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित सो परियोजना अन्तर्गत संचालित तालिमले सामाजिक अगुवाहरुलाई समुदायस्तरमा परिचालन हुनका साथै जानकार भएर परिचालन हुन सहयोग हुने बि ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनुभयो ।
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारीसंगै किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यको बिषयमा जानकारी गराउनु पर्ने आवश्यकता, महत्व र यसबारे जानकारी नपाउँदा समुदायमा पार्ने प्रभाव, धार्मिक ग्रन्थहरुमा विवाह सम्बन्धि लेखिएका कुराका बारेमा तालिमका प्रशिक्षक अनिता विष्टले छलफल तथा जानकारी गराउनु भएको छ ।
सन् २०१३ मा बाल विवाह, कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाह सम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिको संकल्प प्रस्तावलाई नेपाल सरकारले सह-प्रायोजन गरी बाल विवाह विरुद्ध प्रतिवद्धता जाहेर गरेको थियो । सो अनुसार नेपाल सरकार तथा लुम्बिनी प्रदेशले सन् २०३० सम्ममा बाल बिवाह अन्त्य गर्ने रणनीतिक लक्ष्य लिएको छ ।
सोही लक्ष्य पुरा गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्नो तर्फबाट कार्यक्रमहरु संचालन गरिरहेका छन् । बालिकाहरुमा परेको असरबारे अनुसन्धान प्रतिबेदन २०२१ अनुसार २० देखि २४ वर्ष उमेर समुहका ५.२ प्रतिशत विवाहित ब्यक्ति १५ वर्षमुनिका छन् । र १८ वर्ष भन्दा कम उमेरका २२.७ प्रतिशत विवाहित छन ।
बालविवाह, छिटो गरी हुने विवाह, जबरजस्ती गरिने बिवाह र कम उमेरमै गरिने भागी विवाहका कारण अधिकाशं किशोरकिशोरीहरुमा प्रत्यक्ष रुपमा शिक्षामा असर परेको छ । बाल बिवाहको कारणले विद्यालय छोड्ने जोखिम रहेको पाईएको छ । जोखिमलाई अन्त्य गर्नका लागि धार्मिक, समाजिक तथा राजनीतिक अगुवासंगै स्थानीय स्तरमा रहेको संरचनागत समूह, संजालहरुबाट सचेतना फैलाई ब्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको छ ।





