३१ करोड लागतमा औद्योगिक ग्राम निर्माण शुरु, मन्त्रालयको टोलीद्धारा अनुगमन

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं–६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ । जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ ।

करिब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी वोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिज्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले अवलोकन गरेको हो ।

अवलोकनमा पुगेको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै ३ वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो । उहाँले ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण गर्न गइरहेको उक्त औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेको बताउनुभयो । अध्यक्ष कक्षपतिले ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमान गरेको उक्त औद्योगिक ग्राम केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण हुने र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भएको बताउनुभयो ।

लगानी वोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको छ । हालसम्मको कामको प्रसंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाउँदै पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाउन सुझाव समेत दिएको छ ।

Previous articleरेड पाण्डाको छालासहित चार जना पक्राउ
Next articleएक करोड ८९ लाख ठगी गरेको आरोपमा बाँकेमा तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here