बाँकेमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ शुरु

नेपालगञ्ज । बाँकेको कोहलपुरमा २८ वर्षपछि ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ शुरु भएको छ । चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन हुने कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनु हुनेछ ।

जिल्ला खेलकुद विकास समितिको गठनपश्चात पहिलोपटक आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई कोहलपुर नगरपालिकाको सभाहलमा शनिबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद (राखेप) केन्द्रीय सदस्य एलवि क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोहलपुरका मेयर आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नुभएका हरी खड्का कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नु पर्छ ।’

आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउने गरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताउनुभयो । ‘हामीलाई खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने मलाई लाग्छ ।’ उहाँले भन्नुभयो ।

साथै आचार्यले कोहलपुर गोलकप कोहलपुरका चिनारी रहेको बताउँदै कोहलपुरका नेतृत्वमा जो आए पनि कोहलपुर गोल्डकपलाई अपनत्व गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

उपमेयर सुवेदी कोहलपुरले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिइरहेको बताउनुभयो । ‘हामीले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिँदै महिला, दृष्टिविहीन, पुरुष सबैका लागि खेलकुदका कार्यक्रम गर्दै आइरहेको र आयोजना गर्दै जाने छौं,’ सुवेदीले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले एन्फा कम्युनिटी कोचिङ्ग कोर्षु कोहलपुरका लागि अति उपयोगी कार्यकम रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हव बनाउन सहयोग गर्ने बताउनुभयो ।

एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

उहाँले कोहलपुरमा पनि अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मिनी रंगशालाको अवधारणा लिएर अघि बढ्न आबस्यक रहेको बताउनुभयो । उहाँले हाल ‘डी’ लाइसेन्सको प्रशिक्षण आयोजना भए पनि भविष्यमा ‘सीु’ लाइसेन्सको पनि प्रशिक्षण आयोजना गरिने बताउनुभयो ।

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा उक्त कोचिङ्ग कोर्ष सञ्चालन भएको हो ।

Previous articleरिहानिकाको बाल गीत सार्वजनिक
Next articleपुरैनीमा एकता युवा क्लबद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here