नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमानदारिताका साथ गरिरहेको बताउनुभएको छ । पालिकामा निर्माण हुने विकास निर्माणको योजनाको अनुगमनका क्रममा सुरुवाती समयमा केहि समस्या देखिए पनि पछिल्लो समय कार्यविधि अनुसार आफुले काम गरिरहेको बताउनुभयो ।

गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केही कमजोरी भए आफुले त्यसलाई तत्काल सुधार गर्न सुझाव दिने गरेको मल्लको भनाइ छ । बुधबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘प्रेस युनियन संवाद’ कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा विभिन्न पक्षबाट दबाब आएपनि नियम भन्दा बाहिर गएर आफुले काम नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘हामी सबैको आ–आफनो जिम्मेवारी र भूमिका छ । मैले मेरो दायित्व, जिम्मेवारीर अधिकार के हो । त्यसलाई बुझेर काम गर्नुपर्छ । सुरुआती दिनमा अनुगमनमा केहि दबाब आएको थियो । तर त्यसलाई मैले नियम भन्दा बाहिर गएर गरिन् । अनुगमन गर्ने एउटा टिम हुन्छ । प्राविधिक छन, योजना शाखा, विज्ञहरु छन् । सबैले आफनो जिम्मेवारी इमानदारिताका साथ पुरा गरे जनताको लगानीबाट बनेका योजनाहरु सही ढंगले निर्माण हुन्छन् ।’

राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रीय सदस्य समेत रहनुभएकी उपाध्य क्षमल्लले खजुरा गाउँपालिकाले अघिल्लो नेतृत्वले सुरुआत गरेका गौरवका योजनालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको पनि वताउनुभयो । उहाँले भन्नुभयो, ‘केहि योजना बजेट अभावका कारण हामीले सोचे जसरी अगाडी बढेका छैनन् होला । तर समग्रमा अघिल्लो नेतृत्वले सुरुआत गरेका राम्रा योजनालाई पूर्णता दिने हाम्रो दायित्व हो । पालिकाको विकासका लागि त्यो जरुरी छ । राजनीति गर्ने बेला गर्ने हो । विकास निर्माण र जनतालाई सुविधा दिने कुरामा राजनीति गर्नु हुँदैन । त्यसमा हामी प्रतिवद्ध छौं ।’

खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्व विद्यालयलाई तत्कालको लागि स्थानान्तरण गरेर संचालनगर्ने योजना अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्राविधिक विश्व विद्यालय खजुराको गौरवको विषय भएकोले यसलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष मल्लले बताउनुभयो । उहाँले भन्नुभयो ‘खजुरा कृषि र शिक्षाको क्षेत्रमा अगाडी छ । कृषकहरुको व्यवसायीक विकासमा पालिकाले थुप्रै रचनात्मक काम गरेको छ । अन्य पालिका भन्दा हामी शिक्षामा अगाडी छौं । प्राविधिक विश्व विद्यालय खजुरामा संचालन हुनु भनेको हाम्रो गर्वको विषय हो । यसले यहाँको शैक्षिक देखि लिएर नागरिक स्तरमा राम्रो प्रभाव पार्छ । त्यसैले प्राविधिक विश्व विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कुराको हामी व्यवस्थापनमा जुटिरहेका छौं ।’बाँके जिल्लाको आठ स्थानीय तहमा खजुरा न्याय सम्पादनमा अगाडी रहेको छ । गतवर्ष न्यायिक समितिमा ४ सय ६५ वटा मुद्धा परेको थियो । ती अधिकांश मुद्धा फस्र्यौट भएको उहाँको भनाइ छ । खजुरालाई न्याय सम्पादनमा पहिलो पालिकाका रुपमा पुरस्कृत हुने अवसर दिलाएको थियो । समस्या परेर आउने पीडितलाई निष्पक्ष् ढंगले आफुले न्याय सम्पादनको काम गर्ने गरेको उपाध्यक्ष मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘हामीविभिन्न राजनीति दलबाट निर्वाचित भएर आएका छौं । तर पनि मेरो जिम्मेवारी भनेको निष्पक्ष रुपमा न्याय दिने हो । त्यसको लागि संविधानमा हामीले पालना गर्नु पर्ने नियम, कार्यविधिको निर्माण गरिएको छ । त्यही नियमको पालना गरेर न्याय सम्पादनको काम गर्ने हो । त्यसलाई मैले निष्पक्ष ढंगले निर्वाह गरिरहेको छु । अन्य कुरा जनताले महशुस गर्ने कुरा हो ।’

सामाजिक विभेद, घरेलु हिंसा जस्ता घटनाहरुबाट किशोरीलाई सुरक्षित राख्नको लागि पालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहमा क्षेत्र अधिकारको विषयलाई लिएर विवाद हुने गरेको बताउँदै उपाध्यक्ष मल्लले सबै आ–आफनो क्षेत्राअधिकारभित्र रहेर काम गरेको अवस्थामा पालिकामा आन्तरिक विवाद कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको प्रेस युनियन संवादमा बोल्दै प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतले जनप्रतिनिधिहरुलाई मिडियाप्रति उत्तरदायी र जवाफदेही बनाउन प्रेस युनियनले थालेको यो अभियान अत्यन्तै सराहनीय भएको भन्दै निरन्तरतामा जोड दिनुभयो । साथै उनीहरुले संस्थागत सहकार्य र समन्वयमा समेत जोड दिए । शाखा उपाध्यक्ष कमल खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव भीष्म लोधले गर्नुभएको थियो ।

Previous articleबाल बिज्याइँका बारेमा कर्णालीका सबै जिल्ला अदालतसंग सूचना माग
Next articleबालविवाह अन्त्यका लागि लुम्बिनीको दश वर्षे रणनीतिबारे नेपालगञ्जमा कार्यशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here